सुदूरपश्चिम प्रदेशमा बर्सेनि विपद्बाट भौतिक तथा मानवीय क्षति हुने क्रम बढेको छ। प्रदेशको तराई क्षेत्रमा बाढी तथा डुबान र पहाडी क्षेत्रमा पहिरो तथा प्रदेशका नौवटै जिल्लामा चट्याङ, हावाहुरी, आगलागीलगायतका विपद् र वन्यजन्तु आक्रमणबाट पनि अन्नबाली तथा मानवीय क्षति हुँदै आएको छ।
प्रदेशका सात पहाडी जिल्लामा बाढी तथा पहिरो र तराईमा बाढी तथा डुवानसँगै चट्याङ, आगलागी, वन्यजन्तु आक्रमणलगायतका घटनाबाट मानविय तथा भौतिक संरचनामा क्षति हुने गरेको छ।
असोज २० गते रातिदेखि पाँच दिनसम्म लगातार परेको वर्षाका कारण कैलालीको भजनी नगरपालिका र टीकापुर नगरपालिकाका विभिन्न बस्तीहरु विस्थापित भई सडक, वन र विद्यालयमा आश्रय लिएर बसेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार भजनी नगरपालिकाका विभिन्न वडाका तीन सय ७५ घरधुरी र टीकापुर नगरपालिकाका वडा नम्बर ८ अरुणाफाटा गाउँका १० घरपरिवारहरु विस्थापित भएका छन्।
भजनी नगरपालिका वडा नम्बर २ पल्टुपुरका ४०, वडा नम्बर ३ दुसीका ७०, नयाँ बस्ती वर्दवाका १५, वडा नम्बर ८ का दुई सय ५० गरि तीन सय ७५ घरपरिवार विस्थापित भई सुरक्षित स्थानमा सारिएको छ।
हरेक वर्षातमा भजनी नगरपालिकाका विभिन्न बस्तीहरुमा डुबान तथा बाढीको समस्या झेल्दै आए पनि दिगो व्यवस्थापनबारे अहिलेसम्म ठोस कार्यक्रम अघि बढाउन नसकेको स्थानीयहरु बताउँछन्।
भजनी नगरपालिका वडा नम्बर ८ का कम्मानसिंह विक घरपरिवारसहित हुलाकी सडकमा बसोबास गरिरहेका छन्। उनले भने, ‘हरेक वषार्तमा घरभित्र पानी पस्दै आएको छ। हामीलाई कि त उचोँ ठाउँमा बस्ने व्यवस्था गर्नुपर्यो। होइन भने यो समस्या समाधानका लागि दिगो व्यवस्थापनका कार्यक्रम अघि बढाउनु पर्यो।’
नेपाल रेडक्रस सोसाइटी कैलालीका अध्यक्ष उत्तम जोशी तराईमा डुबान तथा बाढी र पहाडमा पहिरोका घटनाहरु बढिरहेको बताउँछन्। वातावरणीय प्रभाव मूल्यांकनबिनै बनाइएका भौतिक संरचनाका कारण पनि विपद्जन्य क्षति बढ्दै गएको उनको भनाइ छ।
उनले भने, ‘पहाडमा सडक निर्माणका नाममा मनलाग्दी सडक खन्ने, कमजोर भूबनोटमा ठूला मेसिन लगाउने र अनियन्त्रित नदीजन्य पदार्थ उत्खननका कारण पनि बाढी तथा पहिरोका घटना बढिरहेका छन्।’
नौवटा जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा वैशाखदेखि असोज २५ गतेसम्म विपदजन्य घटनामा ५५ जनाको मृत्यु भएको छ। सोही अवधिमा १० जना बेपत्ता भएका छन् भने एक सय १० जना घाइते भएका छन्। विपदका दुई सय ४६ वटा घटनाबाट पाँच करोड ६९ लाख १५ हजार सात सय बराबरको क्षति भएको राष्ट्रिय आपतकालिन कार्यसञ्चालन केन्द्रको तथ्यांकमा उल्लेख छ।
६ महिनामा प्रदेशमा सबैभन्दा बढी मानवीय क्षति अछाममा भएको छ भने कैलालीमा धेरै परिवार प्रभावित बनेका छन्। अछाममा २८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन्।
राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार कैलालीमा सात जनाको मृत्यु भएको छ भने चार करोड ८४ लाख १० हजार बराबरको क्षति भएको अनुमान गरिएको छ।
प्रदेशमा सबैभन्दा पहिरोबाट मानविय क्षति हुने गरेको छ। सात जिल्लाका विभिन्न घटनामा २८ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन्। पहिरोका कारण सात लाख ८४ हजार बराबरको क्षति भएको छ।
प्रदेशमा आर्थिक वर्ष २०७८र७९ मा १ सय १३ विपद्जन्य घटनामा परी ५० जनाको मृत्यु, २३ जना बेपत्ता र ५३ जना घाइते भएका थिए। सो आर्थिक वर्षमा सबैभन्दा बढी मानविय क्षति डोटीमा भएको थियो। डोटीमा पहिरोमा परी १८ जनाको मृत्यु भएको थियो।