डडेल्धुरा। डडेल्धुराबाट प्रतिनिधिसभा र प्रदेशसभातर्फ ५ जनाले उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधिसभातर्फ उम्मेदवारी दर्ता गरेका तीन र प्रदेशसभातर्फ उम्मेदवारी दिएका दुई जनाले उम्मेदवारी फिर्ता गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।
मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेका अनुसार प्रतिनिधिसभातर्फ एमाले उम्मेदवार चक्र स्नेही, स्वतन्त्र (काँग्रेसका बागी) दानबहादुर पाल र राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कालिप्रसाद जोशीले उम्मेदवारी फिर्ता लिएका छन्।एमाले केन्द्रले नै स्नेहीको उम्मेदवारी फिर्ता गर्न लगाएको एमाले डडेल्धुराका सचिव गजेन्द्र शाहीले बताए। उम्मेदवारी फिर्तासंगै अब काँग्रेस बीपीसंग प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा तालमेल हुने चर्चा छ। यद्यपी बागी उम्मेदवारी दर्ता गराएका एमाले नेता विक्रमबहादुर शाहीले भने उम्मेदवारी फिर्ता लिएका छैनन्।
यस्तै प्रदेशसभा १ मा काँग्रेस बीपीका गणेशप्रसाद जोशी र प्रदेशसभा २ मा राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जयराज अवस्थीले उम्मेदवारी फिर्ता लिएका छन्। प्रतिनिधिसभातर्फ ३ जनाले उम्मेदवारी फिर्ता लिएसंगै आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि डडेल्धुरामा प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवासहित ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ।देउवासंगै प्रतिनिधिसभा सदस्य पदमा नेपाली काँग्रेस बीपीबाट कर्णबहादुर मल्ल, एमालेबाट बागी बिक्रम शाही, राप्रपाबाट गोविन्द खडायत, जनता समाजवादी पार्टीबाट श्याम सिनाल, स्वतन्त्रबाट कर्णसिंह रावल, सागर ढकाल र लालबहादुर कठायत उम्मेदवार छन्।
यस्तै २ वटा प्रदेशसभा रहेको डडेल्धुरामा अब १२ जना उम्मेदवार भएका छन्। सत्ता गठबन्धन दलबाट डडेल्धुरामा प्रदेश १ मा नेकपा माओवादी केन्द्रका खगराज भट्ट र २ मा नेपाली काँग्रेसका गोविन्दराज बोहराको उम्मेदवारी छ।नेकपा एमालेबाट प्रदेश १ मा पठानसिंह बोहरा र २ मा गजेन्द्र शाही तथा प्रदेश २ मै स्वतन्त्र डा. तारा जोशीको उम्मेदवारी छ। प्रदेश २ बाट राप्रपाबाट पदमराज जोशी, स्वतन्त्र महेश धामी र धनबहादुर बोहरा, राप्रपाबाट खेमराज पनेरु, जसपाबाट नरभान पार्की, स्वतन्त्रबाट तेजबहादुर कठायत र नवराज धिक्तको उम्मेदवारी रहेको छ।