कैलाली। सुदूरपश्चिम प्रदेशमा २०७४ को निर्वाचनमा मुख्यमन्त्रीदेखि मन्त्री बनेका धेरै नेताहरुले मंसिर ४ गते हुने निर्वाचनका लागी टिकट पाउन सकेनन्। सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलेनै मंसिर ४ को चुनावी टिकट पाउन सकेनन्। यस्तै सुदूरपश्चिम प्रदेशका सभामुख, उपसभामुख र अधिकांश मन्त्री टिकट विहीन बनेका छन् । प्रदेशमा २५ जना मन्त्री मध्ये ८ जनाले मात्रै पार्टीको टिकट पाएका छन्।
मन्त्री बनेका १५ जनाले पार्टीको टिकट पाउन सकेनन्। २०७४ को निर्वाचनमा डोटी प्रदेशसभा ख बाट विजयी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री बनेका त्रिलोचन भट्ट यस पटक टिकट पाएनन् ।मुख्यमन्त्री भट्ट सहजै उम्मेदवार हुने अनुमान गरिएको थियो तर उनको ठाउँमा यस पटक माओवादी केन्द्रबाट उनकै स्वकीय सचिव शिवसिंह ओलीले टिकट पाएका छन्। यस्तै सुदूरपश्चिम प्रदेशका सभामुख बनेका अर्जुनबहादुर थापा यस पटक टिकट विहीन बनेका छन् ।२०७४मा एमालेबाट बझाङको प्रदेश सभा क बाट चुनाव लडेका सभामुख थापाले जितेको स्थानमा यस पटक एमालेले अफिलाल ओखेडालाई टिकट दिएको छ ।
प्रदेशकी उपसभामुख निर्मला बडाल जोशी पनि यस पटक टिकटविहीन बनेकी छन् । उनी २०७४ को निर्वाचनमा माओवादी केन्द्रको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी थिइन् । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री बनेका कृष्णराज सुवेदी पनि यस पटक उम्मेदवार बनेनन् । २०७४ को निर्वाचनमा कैलाली ४ को प्रदेश निर्वाचन क्षेत्र ख बाट उनी निर्वाचित भएका थिए । अहिले सो क्षेत्रबाट एमालेका हरिसिंह साउद उम्मेदवार बनेका छन् ।बाजुराबाट चुनाव जितेर सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री बनेका प्रकाश शाह पनि यस पटक टिकटविहीन बनेका छन्।
उनको स्थानमा बाजुराबाट लालबहादुर थापा चुनावमा प्रतिस्पर्धा गर्दै छन् । उनले बाजुराको प्रदेश निर्वाचन क्षेत्र ख बाट चुनाव जितेका थिए । माओवादीका समानुपातिक कोटाबाट सांसद बनेकी प्रदेशकी भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री बनेकी विनीता चौधरी यस पटक माओवादीको समानुपातिक सूचीमा समेत अटाउन सकेकी छैनन् । सुदूरपश्चिम प्रदेशकी उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बनेकी माया भट्ट पनि उम्मेदवार बनेकी छैनन् । उनलाई एमालेले बैतडीबाट समानुपातिक सांसद बनाएको थिए । अहिले उनी एकीकृत समाजवादी पार्टीमा आबद्ध छन् । सुदूरपश्चिम प्रदेश सरकारको पूर्व आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले पनि यस पटक टिकट पाएकी छैनन् ।
उनी २०७४ मा एमालेबाट समानुपातिक प्रदेश सभा सदस्य बनेकी थिइन् । हाल उनी एकीकृत समाजवादी पार्टीमा आबद्ध छिन् । सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्यमन्त्री बनेका टेकबहादुर रैका पनि टिकट विहीन बनेका छन् । उनी २०७४ मा कांग्रेसको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेका थिए । प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री चुनकुमारी चौधरी टिकट पाएकी छैनन्। एमालेको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी चुनकुमारी चौधरी हाल एकीकृत समाजवादी पार्टीमा आवद्ध छिन् । सुदूरपश्चिम प्रदेश सरकारका आर्थिक मामिला तथा योजना राज्यमन्त्री माया तामाङ बोहरा पनि यस पटक टिकट विहीन छन् । उनी एमालेको समानुपातिक कोटाबाट प्रदेश सभा सदस्य बनेकी थिइन् । समानुपातिक कोटाबाटै प्रदेश सभा सदस्य बनेर प्रदेश सरकारको आर्थिक मामिला तथा योजना राज्यमन्त्री बनेकी अर्चना गहतराजले पनि टिकट पाएकी छैनन् । त्यसै गरी सामाजिक विकास राज्यमन्त्री बनेकी मनाकुमारी साउद, त्यसै गरी सुदूरपश्चिम प्रदेश सरकार भौतिक पूर्वाधार मन्त्री बनेकी सुशीला बुडाथोकी र आर्थिक मामिला तथा योजना राज्य मन्त्री बनेका बदलेव सोडारी पनि टिकट विहीन छन् ।