कैलाली। मङ्सिर ४ गते हुने निर्वाचनमा कैलाली जिल्लामा ५ प्रतिनिधिसभा सदस्य पदका लागि ५० जनाको उम्मेदवारी परेको छ। भने प्रदेशसभाका १० निर्वाचन क्षेत्रका लागि ९३ जनाको उम्मेदवारी परेको छ। निर्वाचन प्रणालीतर्फ प्रतिनिधिसभाका पाँच निर्वाचन क्षेत्र रहेको कैलालीमा विभिन्न दलका तर्फबाट ४० र स्वतन्त्र १० जनाको उम्मेदवारी परेको हो ।
प्रदेशसभाका १० निर्वाचन क्षेत्रका लागि विभिन्न दलका तर्फबाट ६२ र स्वतन्त्र ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयका अनुसार प्रतिनिधिसभा सदस्यका लागि निर्वाचन क्षेत्र नं १ मा ११, क्षेत्र नं २ मा नौ, ३ मा आठ, ४ मा ११ र ५ मा ११ जनाले उम्मेदवारी दर्ता गराएका छन्।यस्तै क्षेत्र नं १ को (क) र (ख) प्रदेश सभातर्फ १९, क्षेत्र नं २ को (क) र (ख) प्रदेशसभातर्फ २०, क्षेत्र नं ३ को (क)र (ख) प्रदेशसभाका लागि २१, क्षेत्र नं ४ को (क) र (ख) प्रदेशसभातर्फ १९ र क्षेत्र नं ५ को (क) र (ख) प्रदेशसभातर्फ १४ जनाले उम्मेदवारी मनोनयनपत्र दर्ता गराएका छन्।
प्रतिनिधिसभातर्फ सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारी क्षेत्र नं ५ मा (धनगढी क्षेत्र) परेको छ। यहाँ पाँच जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन्। यो क्षेत्रमा नेपाली कांग्रेसले कारबाही गरेका पूर्वमन्त्री पुष्करनाथ ओझाले प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका छन्। प्रदेशसभातर्फ सबैभन्दा बढी स्वतन्त्र उम्मेदवारी निर्वाचन क्षेत्र नं ३ को (ख) मा सात जनाले दर्ता गराएका छन्। प्रतिनिधिसभा तथा प्रदेशसभाका आकांक्षीहरूले आफ्ना समर्थकसहित निर्वाचन अधिकृतको कार्यालय पुगेर उम्मेदवारीको मनोनयनपत्र दर्ता गराएका हुन्।
कैलाली निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले) का सचिव एवं सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट र नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति एवं पूर्वमन्त्री वीरबहादुर बलायरले उम्मेदवारी दर्ता गराएका छन्। कैलाली निर्वाचन क्षेत्र नं ५ बाट प्रतिनिधिसभामा एमालेका केन्द्रीय सदस्य नारदमुनी रानाले उम्मेदवारी दर्ता गराए। निर्वाचन क्षेत्र नं ५ को प्रदेशसभामा कांग्रेसका युवानेता प्रकाशबहादुर देउवा, निर्वाचन क्षेत्र नं १ को प्रतिनिधिसभामा कांग्रेसका केन्द्रीय सदस्य रामजनम चौधरी र सोही क्षेत्रको प्रदेशसभामा अर्का केन्द्रीय सदस्य डा रणबहादुर रावलले उम्मेदवारी दर्ता गराएका छन्।