काठमाडौँ। बलात्कार आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टोलीका पूर्व कप्तान सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ । जिल्ला अदालत काठमाडौंले असोज २० गतेबाट गणना हुने गरी ७ दिनका लागि म्याद थप गरेको हो। गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका सन्दीपलाई गत बिहीबार प्रहरीले पक्राउ गरी सोमबार अदालतमा उपस्थित गराएको थियो।
दसैं बिदाका कारण अदालत बन्द रहेकाले सन्दीपलाई सोमबार मात्रै म्याद थपका लागि अदालत लगिएको हो । अदालतमा उपस्थित भएसँगै लामिछानेलाई ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिइएको हो । सोमबार जिल्ला अदालत काठमाडौंले असोज २० गतेबाट लागू हुने गरेर ७ दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको अधिवक्ता सरोज घिमिरेले बताए । सन्दीपले इजलासमा आफू निर्दोष रहेको प्रमाणहरु प्रस्तुत गरेको घिमिरेले बताए ।
अब लामिछानेलाई जिल्ला सरकारी वकिलको उपस्थितिमा प्रहरीले बयान लिने छ । लामिछानेमाथि गत भदौ ५ गते १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेको छ। उनीविरुद्ध मुलुकी अपराधसंहिता २०७४ को दफा २१९ अनुसार अनुसन्धान भइरहेको छ । उनीविरुद्धको कसुर पुष्टि भए १० देखि १२ वर्षसम्म कैद सजाय हुन सक्ने कानुनी व्यवस्था छ । गत भदौ २१ मा एक नाबालिगले लामिछानेविरुद्ध जबर्जस्ती करणीको आरोपमा काठमाडौं प्रहरी वृत्त गौशालामा जाहेरी दिएकी थिइन् ।लामिछानेलाई गत भदौ ५ गते ती १७ वर्षीया नाबालिले बलात्कार गरेको आरोप लागाएकी थिइन् ।