कञ्चनपुर। कञ्चनपुरमा सत्ता गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीले सत्तारुढ दलहरुसँग मित्रवत् प्रतिस्पर्धा गर्ने भएको छ । यहाँ गठबन्धन भत्किने संकेत देखिएको छ । गठबन्धनमा रहेको दल नेकपा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएपछि गठबन्धन भत्किने संकेत देखिएको हो । सत्ता गठबन्धनबाट एकीकृत समाजवादी छुट्टिएको छ ।
यहाँका २ प्रदेश सभामा मित्रवत् गठबन्धनका दलहरू बीच छुटिबएर नेकपा एकीकृत समाजवादी एक्लै निर्वाचनमा होमिने भएको हो ।नेकपा एसबाट बहालवाला आर्थिक मामिला तथा योजना मन्त्री प्रकाशबहादुर रावल र निर्वतनमान सामाजिक विकास मन्त्री लालबहादुर खड्काले उम्मेदवारी दिने भएका छन्। गठबन्धन विरुद्ध बागी उम्मेदवार बन्ने भएका छन्। रावलले कञ्चनपुरको प्रदेशसभा क्षेत्र नम्बर ३ (क) बाट उम्मेदवारी दिने र खड्काले प्रदेशसभा क्षेत्र २ (ख) मा उम्मेदवारी दिने तयारी गरेका छन् ।
‘गठबन्धनबाट कञ्चनपुरमा एउटा सीट पाएनौँ, हाम्रो दाबी रहेको क्षेत्रमा उम्मेदवारी दिन्छौँ,’ आर्थिक मामिलामन्त्री रावलले भने, ‘कांग्रेस र माओवादीसंग मित्रवत् प्रतिस्पर्धा हुन्छ ।’२२ गते भएको सत्ता गठबन्धनको सहमतिमा कञ्चनपुर २ को (ख) मा नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादी तथा कञ्चनपुर ३ को (क) मा माओवादी र नेकपा एकीकृत समाजवादीको दाबी रहेको थियो । तर, ती दुई क्षेत्र कांग्रेस र माओवादीले नछोडेपछि यहाँ नेकपा एकीकृत समाजवादी एक्लै निर्वाचनमा होमिन लागेको हो ।