कैलाली। सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्ट आसन्न प्रतिनिधि र प्रदेश सभाको चुनावमा उम्मेदवार बन्नबाट बञ्चित भएका छन्। डोटीबाट प्रतिनिधि सभाको प्रत्यक्ष र समानुपातिक दुवैतर्फ सिफारिस भएर प्रदेश सभामा पनि दाबी गरेका मुख्यमन्त्री भट्टले प्रदेश सभाको टिकट पनि पाएनन्।
एउटा मात्रै संघीय निर्वाचन क्षेत्र रहेको डोटी नेकपा (एकीकृत समाजवादी) को भागमा पर्दा प्रदेश सभा (१) कांग्रेस र प्रदेश सभा (२) क्षेत्र माओवादी केन्द्रको भागमा परेका छन्। माओवादीको भागमा परेको प्रदेश सभा (२) बाट नै भट्ट ०७४ सालको चुनाव लडेर प्रदेश सांसद बनेका थिए। यसपटक मुख्यमन्त्री भट्टको टिकट खोसेर माओवादी केन्द्रले त्यहाँका इन्चार्ज शिवसिंह ओलीलाई उम्मेदवार बनाउने भएको हो।
ओली मुख्यमन्त्री भट्टका स्वकीय सचिव (पीए) पनि हुन्। ०७४ को चुनावमा पनि ओलीको प्रदेश सभामा दाबी थियो। तर त्यस बेला वाम गठबन्धनबाट भट्टले टिकट पाएका थिए। प्रदेश सभा (२) मा माओवादीबाट ओलीले टिकट पाएको डोटीका अध्यक्ष कमल गड्सेलाले बताए। अघिल्लो निर्वाचनमा पनि ओलीको प्रदेश सभामा दाबी थियो । गठबन्धनबाट भट्टले टिकट पाएपछि ओली जिताउन लागेका थिए । त्यहाँ कांग्रेका योगेन्द्र बहादुर शाहीलाई हराउदै भट्ट बिजयी भएका थिए । ५ वर्ष सम्म मुख्य मन्त्री भएका भट्टले अहिले फेरि प्रदेश सभामा दाबी गरेका थिए । एउटै मात्रै निर्वाचन क्षेत्र रहेको डोटीको खमा ओलीको टिकट सुनिश्चित भएको हो ।गठबन्धनमा प्रतिनिधि सभातर्फ नेकपा एकीकृत समाजवादी प्रदेशको एउटा क्षेत्र माओवादी र अर्को कांग्रेसको भाग लागेको छ ।


