सोमबार पर्ने महाअष्टमीका दिन सुदूरपश्चिमकै प्रसिद्ध धार्मिक तिर्थस्थल उग्रतारा भगवती मन्दिरमा मेला लाग्ने भएको छ। डडेल्धुरा सदरमुकामबाट चार किलोमिटर टाढा रहेको उक्त मन्दिरमा भोलि अष्टमी मेला लाग्ने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए। उनका अनुसार अष्टमी मेलासंगै राँगा र बोकाको बली दिइ पूजाआजा गरिनेछ।
मेलामा सुदूरपश्चिमका नौ वटै जिल्ला तथा अन्य क्षेत्रबाट धार्मिक भक्तजन पुग्ने गरेका छन्। उग्रताराको अष्टमी मेला राँगा, बोका काटिने तथा व्यापार व्यवसाय एवं आफन्तजनसँगको भेटघाट हुने समय मौकाको रुपमा प्रख्यात रहेको छ।
किम्बदन्ति अनुसार २५ सय वर्ष पहिला हालको अमरगढी नगरपालिका लटाउली बस्ने साँकी जातिका स्थानीयले हलो जोत्दा हलोको फाली लागेर रगत बगेपछि देवी उत्पन्न भएर दर्शन दिएपछि त्यस दिनदेखि महागौरी दुर्गा र कालीको स्वरुपमा उग्रतारा भगवतीको पूजा गरिँदै आएको छ।
यस्तै बैतडीको दशरथचन्द नगरपालिका २ देहीमाण्डौंस्थित प्रसिद्ध निङ्गलाशैनी भगवती मन्दिरमा आजदेखि जात्रा सुरु भएको छ। घटस्थापनादेखि नित्य पूजा भइरहेको मन्दिरमा सप्तमीको अवसरमा जात्रा सुरु भएको निङ्गलाशैनी भगवती धार्मिक सेवा समितिका अध्यक्ष मुखिया मानबहादुर बोहराले बताए।
हरेक वर्षको महाष्टमीमा निङ्गलाशैनी भगवतीमा राँगाको बलीसहित जात्रा हुने भएकाले सप्तमीका दिन मन्दिरमा राँगा पुर्याउने चलन रही आएको छ। महाष्टमीका दिन राँगाको बलीसहित मन्दिरमा जात्रा हुने गरेको छ।
यसैबीच निङ्गलाशैनी भगवती मन्दिरमा लाग्ने जात्रालाई शान्त र भव्य रुपमा सम्पन्न गर्नका लागि देहीमाण्डौं क्षेत्रलाई मदिरा निषेधित क्षेत्र घोषणा गरिएको छ।