कैलालीको धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले ३ महिनाको सेवासुविधाबापत पाउने रकम सामाजिक कार्यमा लगाउने भएका छन्। उनले साउन, भदौ, असोज र पर्व खर्चबापत पाएको २ लाख ६७ हजार ८ सय समाज सेवामा समर्पित गर्ने भएका हुन्।
उनले दसैँको अवसरमा सो रकमबाट धनगढीमा रहेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थी तथा सामाजिक संस्थाहरुमा आश्रित २६९ जनालाई पोशाक किनिदिने भएका छन्। मेयर हमालले दक्षिणकाली अधारभूत बहिरा विद्यालय बेलाका १ सय ५ जना विद्यार्थी, दृष्टि फाउन्डेसनका ५५ जना आश्रितहरु, मानव सेवा आश्रममा रहेका ५६ जना, आमाको माया छात्रावासमा रहेका ३० जना, गेटा अपाङ्ग समाजका ५ जना र पञ्चोदय माविमा अध्ययनरत १८ जना दृष्टिविहिन विद्यार्थीलाई पोशाक किनिदिने बताए। उनले चुनावका बेला नै आफू निर्वाचित भइसकेपछि कुनै सेवासुविधा नलिने घोषणा गरेअनुरुप नै बाचा पुरा गरेको बताए।
मेयर गोपाल हमालले ७९ हजार ६ सयका दरले साउन, भदौ र असोजको सेवासुवाधा र २९ हजार पर्व खर्च गरि २ लाख ६७ हजार ८ सय बुझेको जानकारी दिएका छन्।