सुदूरपश्चिम। सत्तारुढ पाँच दलीय गठबन्धनको सहमतिअनुसार सुदूरपश्चिममा नेपाली कांग्रेसले ९ सिट पाउने सहमति भएको छ। ती सिटमा उम्मेदवार को हुने भन्ने चर्चा पनि सुरु भएको छ । कांग्रेसले पाएको डडेल्धुरामा प्रधानमन्त्री शेरबहादुर देउवा एकल सिफारिस भएका हुनाले उनी नै उम्मेदवार हुने निश्चित छ भने बाजुरामा उम्मेदवार बन्न कांग्रेसका ७ जना सिफारिस भएका छन् जसमा पूर्व जिल्ला सभापति कविराज पण्डित एक नम्बरमा छन् ।
यहाँ सहमहामन्त्री बद्री पाण्डे पनि दाबेदार छन् । कांग्रेसले पाएको अछाम–२ मा चार जना नेताले उम्मेदवारीका लागि आकांक्षा देखाएका छन्। जिल्ला सभापति पुष्प शाह, नेता बलहादुर कुँवर, गणेशबहादुर विष्ट र रामबहादुर शाहीमध्ये बाटै अछाम–२ मा गठबन्धनको साझा उम्मेदवार तय हुने छ । त्यसै गरी दार्चुलामा चार जनाको नाम सिफारिस हुँदा उद्योगमन्त्री दिलेन्द्र बडूको नाम एक नम्बर सिफारिस भएर आएको छ । उनीबाहेक विक्रमसिंह धामी, जगदिशबहादुर पाल र गौरीशंकर गिरीको नाम पनि सिफारिस भएको छ। गठबन्धनको साझा उम्मेदवार भने मन्त्री बडू नै बन्ने बुझिएको छ।
यस्तै कैलाली १ मा केन्द्रीय सदस्य रामजनम चौधरी, ४ मा सुदुरपश्चिम प्रदेृश सभा सदस्य बिर बहादुर बलायर उम्मेदवार बन्ने सम्भावना बलियो रहेको छ । कैलाली ५ मा केन्द्रिय सदस्य आरजु राणा देउवा छाडेकाले उम्मेदवारको टुङ्गो लाग्न बाँकी छ । कञ्चनपुर–२ मा नेता एनपी साउद उम्मेदवार हुने पक्का जस्तै छ । हरिप्रसाद बोहरा र प्रेमबहादुर बलायरको नाम पनि सिफारिस भएको छ ।यस्तै कञ्चनपुर–३ मा नेता प्रेमबहादुर विष्टको नाम सिफारिस भए पनि नेता रमेश लेखकको उम्मेदवारी निश्चित जस्तै छ ।नौ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा प्रतिनिधीसभाका १६ र प्रदेशसभाका ३२ वटा निर्वाचन क्षेत्र छन्। प्रदेशका १६ प्रतिनिधीसभाका निर्वाचन क्षेत्रमध्ये ९ काँग्रेस, ४ माओवादी केन्द्र र ३ निर्वाचन क्षेत्र नेकपा एकिकृत समाजबादीले पाउने भएको हो । सुदूरपश्चिम प्रदेशमा १६ लाख ५८ हजार ४ जना मतदाताले मतदान गर्ने पाउने भएका छन्।