काठमाडौं।समाजमा सत्य स्थापित गर्ने, सद्भाव जागृत गर्ने र दानवी तात्पर्य नाश गर्ने दसैँ पर्वको गहन आदर्श हो । हाम्रो संस्कार र व्यवहारमा दसैँ मनाउँदा विद्यमान पद्धति र जीवनप्रतिको गहिरो दृष्टि हेर्दै जानुपर्छ । शान्ति होस्, सदाचार रहोस् र आपसी सद्भाव बढोस्, दसैँ पर्वको यही आसय हो । त्यसैले यस पावन अवसरमा देशभित्र र बाहिर रहे–बसेका सबै नेपालीहरूमा हामी मंगलमय शुभकामना व्यक्त गर्दै हामीलाई लागेको छ–कुनै पनि देशभक्त नेपालीलाई यो समय सजिलोसँग बितिरहेको छ जस्तो लाग्दैन ।
बहुदलीय संसदीय प्रणालीमा जनताको आशा, आकाङ्क्षाअनुरूप संगठित राजनीतिक दलहरू हुन्छन् । विभिन्न तहका प्रतिनिधिमा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधित्व हुन्छ । तिनबाट जनमनोभावनाको परिपोषित परिपाटी रहन्छ । तर, आस्था, सिद्धान्त र जनविश्वासका दृष्टिले ती कति निष्ठावान् र जनउत्तरदायी रहे भन्ने आजकाल जल्दाबल्दो प्रश्न बनेको छ । पदलोलुप, सत्ता स्वार्थ र भागबण्डा गरेर आफ्नै सुविधा भोगेकाका लागि राजनीति केन्द्रित हुँदै गएपछि देशको स्थिति र जनताको हालत के हुन्छ रु कार्यपालिका व्यवस्थापिका र न्यायपालिकाका सबै अङ्गभित्र उत्पन्न विवाद, विग्रह र विकृति आजको स्थितिले सर्वत्र प्रश्न उठेको छ ।
यो अवस्थाले जनतामा उत्साह छैन । मुलुकमा भविष्यप्रति र भविष्य निर्माणको कुनै भरोसा छैन । दायित्व के रु गर्ने के रु गर्न नहुने के रु न्यायिक मूल्य के हो रु के होइनन् रु यी सबै कुराको निराकरण गर्ने गर्ने र कोबाट हुने रु देश र जनतासामु खड्किएको ज्वलन्त प्रश्न यही हो । देशप्रति बफादारी र जनताप्रति उत्तरदायी भएर काम गर्ने विधि व्यवस्था र संगठन एवम् प्रतिनिधित्वको सही पात्र आज देशले खोजिरहेको छ । प्रयोग र अभ्यासबाट नै देशलाई बचाउने र बनाउँदै जाने हो । देशका मौलिक मूल्य र सही विकल्पतर्फ हाम्रो मनोभाव बढ्दो रुपमा पाइन्छ । पुर्खाले आर्जेको यो स्वाधीन राष्ट्रलाई असफलतातर्फ धकेल्न हुन्न भन्ने आम भावना रहेको छ ।
आफ्ना सनातनी मूलभूत महिमालाई बिथोलेर, केही संरचना बदलेर, केही नामान्तर गरेर सुन्दर नौलो नेपाल भइहाल्दोरहेनछ । त्यसैले बलियो मियोमा आबद्ध भएर राम्रो र दरिलो नेपाल बनाउन हामीमा दिव्य चेतना आउन आवश्यक छ । नेपाल निरन्तर देशी विदेशीहरूको क्रिडाभूमि पनि भयो भन्ने जनगुनासो छ । त्यसैले स्वतन्त्र, सार्वभौम नेपाललाई आफ्नै अस्तित्वमा अड्याएर समुन्नत, सक्षम र समृद्धिको पुनर्निर्माणमा ध्यान दिनुपर्ने देखिन्छ । नेपाललाई फेरि महान् बनाउनु परेको छ । आफ्नै देशमा मौका नभएर हो कि नखोजेर हो, रोजगार र कमाउन भनेर दिनहूँ हजारौँको सङ्ख्यामा नेपाली युवायुवती विदेशिइरहेका छन् ।
एकातिर होनहार नागरिकहरू बाहिर गएर नेपाली भूभाग र हामीलाई उजाड पारिरहेका छन् भने अर्कातिर बाहिरियाहरुलाई भित्र्याउने र वास्तविक नेपालीहरूलाई धरापमा पार्दै जाने प्रपञ्चप्रति चासो र चिन्ता बढेको छ । विश्वका दुई ठुला मुलुकका बीचमा अवस्थित हाम्रो देशको धर्म संस्कृति र सभ्यतामाथि केही समययता घातक प्रहार हुँदै आएको छ । डेढ दशकको राजनीतिक अभ्यासले कोर्स करेक्सनको परिहार्यतासिद्ध गरेको छ । हाम्रो राष्ट्रियता र इतिहास सर्वाधिक संकटापन्न स्थितिमा छ । हाम्रा मौलिक,धार्मिक सांस्कृतिक मान्यताहरू विस्थापित गर्ने क्रमलाई तीव्रता दिइएको छ । परराष्ट्र नीति असन्तुलित बन्दा राष्ट्रहित र सुरक्षा सङ्कटग्रस्त बन्दै गएको छ ।
व्याप्त भ्रष्टाचारले समाज र व्यवस्थालाई पथ भ्रष्ट तुल्याएको छ । सर्वसाधारणको दैनिक जीवनलाई सकसपूर्ण बनाएको छ । विद्यमान संविधान र व्यवस्थाको रक्षा गर्न खोज्दा देशलाई दाउमा लग्ने अवस्था बनेको छ । पहिले पनि हामीले भनिसकेका छौँ–हाम्रो कुनै कार्यले देश कहिल्यै पनि हार्नु हुँदैन । राष्ट्र, प्रजातन्त्र, मौलिक मान्यताहरू र नेपाली एकता रक्षाका निम्ति एकजुट हुँदै अभिभावकीय राज्यव्यवस्थाको पक्षमा समर्पित रहने देशभक्त नेपालीहरूको चोखो चाहना परिपूर्ति गर्न श्री नवदुर्गा भवानीले प्रेरणा प्रदान गरुन् जय नेपाल ।(पूर्वराजा ज्ञानेन्द्र शाहले विजया दशमी २०७९ का अवसरमा दिएको भिडियो सन्देशको उतार)