काठमाडौँ। लोकतान्त्रिक समाजवादी पार्टीकी केन्द्रीय कार्यकारिणी सदस्य एवं पूर्वमन्त्री चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छन् । कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्रीपत्नी आरजु देउवाले नेता चौधरीलाई बालुवाटारमा बुधबार साँझ कांग्रेसको क्रियाशील सदस्यता प्रदान गर्दै स्वागत गरेका छन् । प्रधानमन्त्री देउवाले निर्वाचन आचारसंहिता लागू भएकै दिन आचारसंहिता विपरीत सरकारी निवासको दुरुपयोग गर्दै लोसपा नेता चौधरीलाई कांग्रेसमा स्वागत गरेका हुन्।
०७४ को निर्वाचनमा तत्कालिन राष्ट्रिय जनता पार्टीबाट समानुपातिकतर्फ सांसद रहेकी चौधरी गतवर्ष १८ दिने मन्त्री बनेकी थिइन्। उनलाई तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिएका थिए । तर, अदालतको आदेशका कारण उनको मन्त्री पद गएको थियो। नेताहरूका अनुसार चौधरीलाई सर्लाही–४ बाट प्रत्यक्षतर्फ उम्मेदवार बनाउने आश्वासनसहित कांग्रेसमा प्रवेश गराइएको हो । सर्लाही–४ मा कांग्रेसबाट उम्मेदवारका लागि महामन्त्री गगन थापाको नाम सर्वसम्मत सिफारिस भएर आएको छ भने प्रदेश कार्यसमितिले सो क्षेत्रबाट ०७४ मा निर्वाचित सांसद अमरेशकुमार सिंहको नाम सिफारिस गरेको छ ।