धनगढी। सुदूरपश्चिममा चाडपर्व लक्षित ट्राफिक व्यवस्थापन कार्ययोजना लागू भएको छ। कैलालीमा मात्रै ट्राफिक प्रहरीले ९ स्थानमा यात्रु सहायता कक्ष स्थापना गरेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख वकिल सिंहले जिल्लाका ९ स्थानमा सहायता कक्ष स्थापना गरेको बताए । उनले त्यसलाई मध्यनजर गरेर सवारीको यान्त्रिक जाँच पनि गरेको बताए ।
बसपार्क लगायतका विभिन्न स्थानमा सहायता कक्ष स्थापना गरिएको हो । दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरी लागू गरिएको कार्ययोजनामा कडाइ गरिएको दाबी गर्दै उनले दुर्घटना न्यूनिकरणमा हामीले विशेष ध्यान दिएको बताए ।चाडपर्वको समयमा सार्वजनिक सवारी साधनमा यात्रुको चाप बढी हुने गरेको छ । विशेषगरी मजदुरी गर्न भारत गएकाहरु घर फर्किने हुँदा पनि चाप बढी हुने गरेको हो । देशभित्रै पनि पढाइ तथा काम विशेषले घरबाहिर बस्नेहरु जन्मथलो फर्किने भएकाले पनि चाप बढ्ने गरेको छ । यात्रुको संख्या बढी हुने भएकाले यो समयमा दुर्घटनाको जोखिम बढी हुन्छ ।
सवारी साधनमा सिट क्षमताभन्दा बढी यात्रु राख्ने, चालकले मादकपदार्थ सेवन गर्ने, सवारीको अवस्था चेकजाँच नहुने लगायतका कारण दुर्घटनाको जोखिम बढी हुने गरेको छ । दुर्घटना न्यूनिकरण गर्न सुदूरपश्चिम प्रदेशभर सहायता कक्ष स्थापना गरी व्यवस्थापन भइरहेको छ। सबै जिल्लामा ट्राफिक व्यवस्थापनको काम भइरहेको छ । सहायता कक्ष स्थापना भएको बताउँदै सवारी जाँच भइरहेको छ । मापसे गर्ने चालकलाई कारबाही हुने भन्दै लामो दुरीमा दुई चालकको व्यवस्था अनिवार्य गरेको जिल्ला ट्राफिकका प्रमुख सिंहले बताए । टाइम कार्ड पनि लागु गरेका भन्दै उनले भने अहिले ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था जाँचसमेत गर्ने गरिएको छ ।
चाडपर्वका बेला दुर्घटना हुनसक्ने भन्दै ट्राफिक प्रहरीले सवारी साधनको यान्त्रिक अवस्था जाँच गर्न लागेको हो। ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयका मेकानिकल इन्जिनियरको सहकार्यमा यान्त्रिक अवस्था जाँच भइरहेको छ । यात्रुसँग एक मिनेट कार्यक्रम लागू गरेको ट्राफिकले बेला बेला मापसेसमेत चेक गर्ने गरेको छ । लामो दुरीमा दुई चालक राख्ने, क्षमताभन्दा बढी यात्रु राख्ने लगायतका विषयमा समेत कडाइ गरेको दाबी प्रहरी उपरीक्षक धितालको रहेको छ ।