चाडपर्व लक्षित अनुगमन र चेकजाँचलाई डडेल्धुरामा कडाइ गरिएको छ। सयुक्त बजार अनुगमन समितिले जिल्लास्थित स्थानीय तहको समन्वयमा बजार अनुगमनलाई तिव्रता दिएको छ भने सवारी चेकजाँचमा पनि कडाइ गरिएको छ।
सोमबार मात्रै सहायक प्रमुख जिल्ला अधिकारी हेमप्रसाद ढकालको संयोजकत्वमा जिल्ला प्रहरी कार्यालय डडेल्धुरा, यातायात व्यवस्था कार्यालय, राष्ट्रिय अनुसन्धान कार्यालय र पत्रकारसमेतको उपस्थितिमा भीमदत्त राजमार्गअन्तर्गत चल्ने ६० बढी यात्रुवाहक सवारीसधानको आकस्मिक चेकजाँच गरिएको छ।
सो क्रममा क्षमताभन्दा बढी यात्रु राखेर सवारी चलाउने, भाडादर नराखी सवारी साधन चलाउने लगायतलाई कारबाही गरी १६ हजार राजश्व संकलन गरिएको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। यस्तै राजमार्ग क्षेत्रका होटेलमा पनि प्रशासन नेतृत्वको टोलीले छड्के अनुगमन गरेको छ। राजमार्ग क्षेत्रका ८ वटा होटेलको खानाको गुणस्तर तथा सरसफाइको चेकजाँच गरिएको हो। सो क्रममा मूल्यसूची नराखेका होटल सञ्चालकलाई सम्झाइबुझाई गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।