कञ्चनपुर। कञ्चनपुरमा फेला परेका ३ शवको पहिचान नखुलेपछि प्रहरीले गाडेको छ। मानव कंकालमा परिणत भएको अवस्थामा शव फेला परेका तीन शवको पहिचान खुलेको थिएन। उक्त दुई शव लालझाडी गाउँपालिका–१ को चिनी मिल नजिकै उखुबारीमा र एउटा शव पुनवार्स नगरपालिका–१० को दोदा नदी नजिकै भेटिएको अवस्थामा पहिचान नखुलेपछि गाडिएको कञ्चनपुर प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय त्रिभुवन बस्तीका प्रहरी निरीक्षक नरेशराज मल्लले सडेको अवस्थामा शवको पहिचान गर्न नसकिएपछि आवश्यक प्रक्रिया पुगाएर सोही स्थानमा गाडिएको जानकारी दिए । शवहरु सडेको अवस्थामा फेला परेका उनले बताए। आइतबार साँझ शव भेटिएको थियो। त्यसपछि प्रहरीले चिकित्सकको टोली घटनास्थलमै मगाएर डीएनए परीक्षणका लागि नमूना संकलन गरेको थियो।
त्रिभुवन बस्ती प्राथमिक स्वास्थ्य केन्द्रका डाक्टर मोसा तामाङ नेतृत्वको टोलीले शवको वैज्ञानिक परीक्षणका लागि नमूना संकलन गरेको थियो। प्रहरी निरीक्षक मल्लकाअनुसार चुरा र कपडाका आधारमा दुई वटा शव महिला र एउटा पुरुषको भएपनि थप पहिचान नखुलेको हो। शनिबार अविरल वर्षासँगै आएको बाढीले ती शव अन्यत्रैबाट बगेर आएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ।