कैलाली। कैलाली कारागारका ८ जना कैदीको सजाय मिनाहा गरिएको छ । संविधान दिवसको अवसरमा कैलाली कारागारमा विभिन्न अभियोगमा कैद सजाय भोगिरहेका ८ जना कैदी कैदमुक्त मिनाहा गरिएको हो।
जिल्ला कारागार कैलालीका प्रमुख (जेलर) नरबहादुर थापाका अनुसार हत्या अभियोगमा २० वर्ष जेल सजाय भएका स्थायी घर पर्वत भएर धनगढीको फूलबारीमा बस्दै आएका रामबहादुर खत्री, डोटीको पूर्वीचौकी गाउँपालिका १ का नृप साउँद, बाँकेको नैनारापुरका केशव जाखा र कैलालीको जोशीपुर गाउँपालिका ४ का विशाल चौधरी बाँकी कैद मिनाह भएको जेलर थापाले बताए । उनीहरु ४ जनाले ९ वर्ष कैद सजाय भोगिसकेका थिए।
यस्तै जेलर थापाकाअनुसार ज्यान मार्ने उद्योगमा कैद सजाय भोगिरहेका कैलालीको जानकी गाउँपालिका १ का धनबहादुर शाही, गौरीगंगा नगरपालिका८ का त्रिभुवन चन्द, सवारी ज्यान उद्योगका सुवास थापा र चुरे गाउँपालिका ३ का दिपक अधिकारीको पनि कैद सजाय मिनाह गरिएको छ ।उनीहरु मध्ये ज्यान मार्ने उद्योगका चन्द र शाहीले ५/५ वर्ष कैद सजाय भएकोमा ४० प्रतिशत भुक्तान गरिसकेका थिए भने सवारी ज्यानका थापा र अधिकारीलाई ३/३ वर्ष कैद सजाय भएका उनीहरुको पनि आधा कैद मिनाह गरिएको छ ।
८ औं संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले विभिन्न अभियोग(कर्तव्य ज्यान मुद्दा) मा कैद सजाय पाएका कैदीको बाँकी कैद मिनाह गरेकी हुन् । संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद मिनाहा गरिएको जनाइएको छ।