दार्चुला। त्रिदेशीय सीमा जोडिएको दार्चुलामा नेपाल-भारत जोड्ने मोटरेबल पुलको शिलान्यास हुने भएको छ । सोमबार महाकाली नगरपालिका-८ असिगडा र भारततर्फ पिथौरागढ जिल्लाको धारचुला तहसिल बलुवाकोट नजिकको छारछुम जोड्ने पुलको दुईटै देशबाट संयुक्त रूपमा पुलको शिलान्यास गरिने भएको छ ।
दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायका अनुसार नेपालतर्फ नेपाल सरकारका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीलेन्द्रप्रसाद बडूले र भारततर्फ उत्तराखण्डका मुख्यमन्त्री (सीएम) पुष्करसिंह धामीले शिलान्यास गर्ने कार्यक्रम रहेको छ। भारतीय पक्षले निर्माण गर्ने उक्त मोटरेबल पुलको शिलान्याससँगै त्रिदेशीय सीमा जोडिएको क्षेत्रमा अन्तरदेशीय पुल निर्माणले व्यापारिक मार्गमा जोडिने भएको हो।
नेपाल-भारत जोड्ने मोटरेबल पुल निर्माण पश्चात दार्चुला जिल्ला सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र बन्ने सम्भावना बढेको दार्चुला उद्योग वाणिज्य संघका महासचिव सर्पराज बडूले बताए । उनले यसका लागि सरकारले त्रिदेशीय मार्ग महाकाली कोरिडोरलाई चाडो निर्माणसँगै दार्चुलासित जोडिएको ताँलाकोट नाकालाई सञ्चालनमा ल्याउनुपर्ने हुन्छ ।