काठमाडौँ। निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाविरुद्धको महाभियोग सिफारिस समितिले प्रतिवेदनमाथि छलफल सुरु गरेको छ । शनिबार ३ बजेपछि सिंहदरबारमा समितिको बैठक बसिरहेको छ । प्रतिवेदनमाथिको छलफल सकिएपछि समितिले शनिबार नै सभामुख अग्नि सापकोटालाई प्रतिवेदन बुझाउने छन्।
निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणालाई शनिबार बिहान पनि समितिले पूरक प्रश्नहरू सोधेको थियो। प्रतिनिधिसभाको अन्तिम बैठक बसिरहँदा महाभियोग सिफारिस समितिले प्रतिवेदनलाई अन्तिम रुप दिन लागेको हो । निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान सकिएपछि समितिले प्रतिवेदनलाई अन्तिम रुप दिन लागेको हो। जबराले समितिसमक्ष बयान दिने क्रममा न्यायाधीशहरूसहित थुप्रै राजनीतिक दलका नेता तथा कानुन व्यवसायीहरूलाई गम्भीर आरोप लगाएका थिए।
तीमध्ये कतिपयको व्यक्तिगत आचारणमाथि पनि अमर्यादित टिप्पणी गरेका थिए भने कतिपयलाई राजनीतिक रूपमा प्रभावित भएर फैसला गरेको आरोप लगाएका थिए । बयानका क्रममा जबराले पूर्वप्रधानन्यायाधीशहरूलाई पनि असान्दर्भिक प्रसंगमा तान्दै लाञ्छना लगाएका थिए । समितिले भदौ १५, १६, १९, २६ र २८ मा निलम्बित प्रधानन्यायाधीश जबरासँग बयान लिएको थियो ।