कैलाली। धनगढीमा कर छलीको आशंकामा समैजी स्टोरमाआन्तरिक राजश्व कार्यालयले छापा हानेको छ। धनगढीको चौराहास्थित समैजी स्टोरमा एउटै फर्म अन्तरगत विभिन्न कारोबार हुँदै आएको स्टोरमा आन्तरिक राजश्व कार्यालय धनगढीले बुधबार छापा हानेको हो ।
राजश्व कार्यालय धनगढीका सूचना अधिकारी दुर्गा प्रसाद पौडेलले करसम्बन्धी शंकास्पद गतिविधि हुँदै आएको देखिएकाले छापा मारेर अनुसन्धान कार्य भइरहेको जानकारी दिए । उजुरीको आधारमा अनुसन्धान कार्य भइरहेको बताउँदै उनले हाल स्टोक बुक भिडाउने काम भइरहेको जनाए। समैजी स्टोरको भौतिक मालसामानको अवस्था र उसले हामीलाई देखाउने कारोबार र तिर्ने राजस्वमा तालमेल नमिलेको देखिएकाले स्टक र कारोबारको वास्तविक अवस्था थाहा पाउन छापा हानेको पौडेलले बताए।
,अहिले पसलको स्टक चेकजाँच गरिरहेका छौँ उनले भने। सो स्टोरले किराना सामानसँगै अन्य बस्तुको कारोबार हुँदै आएको छ । उनले भने, ‘एउटै व्यक्तिको नाममा धेरै कारोबार भएको देखिएको छ । किरानासँगै ग्यास, भाँडाबर्टन, ईटा, बिल्डर्सलगायतको कारोबार भएको भन्ने कुरा आएको छ । हामी बिहान १० बजेदेखि स्टोक हेर्ने कामै छौँ । २ दिनसम्म लाग्छ, त्यसपछि मात्रै कारोबार तथा कर छली भए/नभएको थाहा हुने सूचना अधिकारी पौडेलले बताए।