धनगढी। दार्चुलामा बाढी पहिरोका कारण ज्यान गुमाएका परिवारलाई एक लाख राहत उपलब्ध गराउने निर्णय भएको सुदूरपश्चिम प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ । प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढी र पहिरोबाट ज्यान गुमाएका परिवारलाई एक लाख र घर क्षति भएका परिवारलाई ५० हजार राहत उपलब्ध गराउने निर्णय अनुसार सो रकम पठाएको मन्त्रालयले जनाएको छ।
आन्तरिक मामिला तथा कानुन मन्त्री डाक्टर रणबहादुर रावलले मृतकका परिवारलाई क्रिया खर्च बापत थप २० हजार रकम पठाएको जानकारी दिएका छन् । बाढीका कारण पुर्णरुपमा क्षती भएका ४२ ओटा घरपरिवारलाई ५० हजारका दरले राहत रकम जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पठाएको मन्त्री रावलले जानकारी दिए ।
यस्तै प्रदेश विपद व्यवस्थापन कार्यकारी समितिको बैठकले बाढीका कारण दार्चुलाको नौगाड क्षेत्रको जनजीवन विच्छेद भएको स्थानमा वैकल्पिक व्यवस्था सहित राहत र खाद्यान्न ढुवानी गर्ने समेत निर्णय गरेको छ । बाढीका कारण सो क्षेत्रका सडक र झोलुङुगे पुल बगेपछि सो स्थानमा वैकल्पिक व्यवस्था गरेर भएपनि प्रदेश सरकारले खाद्यान्न ढुवानी गर्ने बताएको छ ।बाढीका कारण सडक बिच्छेद भएको स्थानमा सडक सञ्चालन गर्नका लागि नेपाली सेनाले काम गरिरहेको छ भने तीन वटै सुरक्षा निकायहरु विपदपछि सो क्षेत्रमा गर्नुपर्ने काममा खटिएको मन्त्री रावलको भनाई छ ।