कञ्चनपुर। कञ्चनपुरमा पुजारीले विभेद गरेको घटनाको पक्ष विपक्ष टिकाटिप्पणी गर्न रोक लगाइएको छ । सोमबार जिल्ला समन्वय समिति कञ्चनपुरको समन्वय तथा संसद समुह कंचनपुरको सहजिकरणमा बसेको भेलाले पक्ष विपक्षमा हुल हुज्जत, दंगा आन्दोलन र सामाजिक संजालमा टिप्पणी गर्न रोक लगाउन अनुरोध गर्ने निर्णय गरेको हो ।
जिल्ला समन्वय समितिका प्रमुख दुर्गा दत्त बोहराको अध्यक्षतामा दलित समुदायका प्रतिनिधि र ब्राह्मण समुदायका प्रतिनिधि सहित बसेको भेलाले जातिय भेदभाव तथा छुवाछुटको मुद्धा जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा दर्ता भएकाले यसलाई प्रभावित हुने गरी कुनै पनि क्रियाकलाप नगर्न अनुरोध गर्ने निर्णय गरिएको छ ।भेलाले पुजा प्रकरणलाई लिएर सामाजिक संजालमा समाजिक सद्भावमा खलल पु¥याउने प्रकारका पोष्ट नगर्न नगराउन समेत आग्रह गरेको छ ।
आगामी दिनमा यस्ता प्रकारका घटना नहोस भन्नका लागि सकारात्मक लेख, रचना र पोष्ट गर्ने, सबै प्रकारका भेदभावका सम्बन्धमा भएका कानुनी प्रावधानका बारेमा छलफल, गोष्ठी, सेमिनार गरी चेतना फैलाउने कार्यक्रम गर्नका लागि जिल्ला समन्वय समितिलाई आग्रह गर्ने निर्णय पनि भेलाले गरेको छ ।
ऋषि पञ्चमीका दिन भिमदत्त नगरपालिका १० का सहदेव भट्टले पुजा गर्ने समयमा गोत्र सोध्दा थर खुलेपछि पुजा नगर्ने भन्दै विभेद गरेको भन्दै हाल जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ ।पीडित भीमदत्त नगरपालिका ५ का सन्जु नेपालीले पुजारीविरुद्ध जिल्ला प्रहरी कार्यालयमा जातीय भेदभाव तथा छुवाछुत अपराध सम्बन्धी मुद्दा जाहेरी दर्ता गरेकी थिइन् । उजुरी पछि प्रहरीले पुजारीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।