दार्चुला। शुक्रबार रातिदेखि भएको अविरल वर्षाका कारण आएको बाढीपहिरोले घरवारविहीन भएका परिवारलाई बासको समस्या परेको छ। पीडितहरू अहिले नेपाल रेडक्रस सोसाइटी र जिल्ला समन्वय समितिको भवनमा बसिरहेका छन्। पीडितलाई खानाको समेत समस्या भएपछि महाकाली नगरपालिका र नेपाल रेडक्रस सोसाइटीले दाल, चामल, नुन वितरण गरिएको छ।
रात पर्न थालेपछि पिडीतहरुलाई बास बस्न समस्या भएको छ।अहिलेसम्म बाढीपहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या पाँच पुगेको छ। लास्कु खोलामा आएको बाढी र नौगाडमा आएको पहिरोमा परी पाँच जनाको मृत्यु भएको हो।पहिरोका कारण नौगाड गाउँपालिकामा तीन जनाको मृत्यु भएको छ। मृत्यु भएका पाँच जनाको सनाखत भएको छ। मृत्यु हुनेमा नौगाड गाउँपालिकाका तीन र महाकाली नगरपालिकाका दुई छन्। सातजना अझै बेपत्ता छन्। बेपत्ता सबै सदरमुकाम खलङ्गास्थित महाकाली नगरपालिकाका छन्।बाढीपहिरोमा परेर मृत्यु हुनेमा महाकाली नगरपालिका-२ मुल्लाका ७७ वर्षीय नन्दराम बोहरा, महाकाली- ३ डुङरीकी ३५ वर्षीया मानमति कार्की, नौगाड गाउँपालिका-१ की ३५ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना तथा नौगाड-२ का ४५ वर्षीय मोहनराम पार्की रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। पहिरोमा परी गम्भीर घाइते भएकाहरूको नेपाली सेनाको एयर एम्बुलेन्समार्फत उद्दार गरिएको छ। सुर्खेतबाट आएको एयर एम्बुलेन्समार्फत नौगाड गाउँपालिका-१ सल्लाका ४५ वर्षीय बिरेन्द्र ठगुन्ना, ४० वर्षीय जयबहादुर ठगुन्ना, ३५ वर्षीय फागुनी ठगुन्ना, सोही ठाउँका ३० वर्षीय रम्भा देवी ठगुन्ना र ३० वर्षीय देव सिंह ठगुन्नालाई उद्दार गरी सदरमुकाम खलंगा ल्याएको नेपाली सेनाको गुरु गोरख गुल्म दार्चुलाले जनाएको छ। उनीहरूलाई हेलिकप्टरमा नौगाडबाट खलङ्गा हुँदै केही बेर अघि कैलालीको धनगढी लगिएको सहायक प्रजिअ हेमन्ती साउदले जानकारी दिए। जिल्ला अस्पताल दार्चुलामा उपचार सम्भव नभएपछि चारैजनालाई धनगढी लगिएको उनले बताए। चार जनाको अवस्था चिन्ताजनक रहेको उनको भनाइ छ। पहिरोले नौगाडमा १२ घर पूर्ण क्षति भएको छ भने महाकाली नगरपालिका(४ बंगाबगडमा १५ घर महाकालीमा बगेका छन्।