दार्चला। दार्चुलामा बाढी र पहिरोमा फसेका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गर्न थालिएको छ। दार्चुलाको नौगाड गाउँपालिका २ सल्ला गाउँमा बाढीपहिरोमा परेर पाँच जनाको मृत्यु भएको थियो। बाढी पहिरोमा ९ जना बेपत्ता भएका छन्, ५ जना घाइते भएका छन् भने, घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ। बाढीपहिरोमा परेर फसेका घाइतेहरुलाई नेपाली सेनाको हेलिकोप्टरले उद्धार गर्न थालिएको हो।
प्रहरीले घाइतेहरुको उद्धार गरेर जिल्ला अस्पताल दार्चुलामा पुगाएको छ। गृहमन्त्री बालकृष्ण खाणको निर्देशनपछि सेनाको हेलिकोप्टर बाढीपहिरो प्रभवित क्षेत्रमा पुगेको हो। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता फणिन्द्रमणि पोखरेलले कर्णाली प्रदेशको राजधानी सुर्खेतबाट घटनास्थल पुगेको हेलिकोप्टरले उद्धार गरिरहेको छ। उनका अनुसार अहिले घाइतेलाई उद्धार गरेर उपचारका लागि जिल्ला अस्पताल खलंगा ल्याउन थालिएको छ। दार्चुला प्रहरीले महाकाली नगरपालिका र नौगाड गाउँपालिकाका विभिन्न स्थानमा पहिरोले ठूलो क्षति पुर्याएको जनाएको छ।
बेपत्ता हुनेहरुमा नौगाड गाउँपालिका–१ का ३५ वर्षीया चिमडी ठगुन्ना, सोही ठाउँका १५ वर्षीया महामरी ठगुन्ना नौगाड–२ दल्लेकका ४० वर्षीया मनीराम लुहार, महाकाली नगरपालिका–४ का ४५ वर्षीय मोहन लुहार, सोही ठाउँकी ४० वर्षीया सरस्वती लुहार, महाकाली नगरपालिका–३ डुङरीका ५५ वर्षीय धनसिंह कार्की, उनका जेठा छोरा २० वर्षीय दिपक कार्की, १२ वर्षीय कान्छा छोरा दिनेश कार्की रहेको प्रहरीले जनाएको छ। यस्तै महाकाली नगरपालिका–२ मुल्लाका ७५ वर्षीया मानमती साहु बेपत्ता भएका छन्। यसअघि प्रहरीले नौगाड गाउँपालिका–२ का अन्दाजी ३२ वर्षीया जानकी ठगुन्ना, १५ वर्षीया धनुली ठगुन्ना र ६८ वर्षीय मोहनराम पार्कीको शव फेला परेको जनाएको थियो।
यस्तै महाकाली नगरपालिका–२ का ७७ वर्षीय नन्दराम बोहरा र वडा नम्बर १ सल्लाकी ४३ वर्षीया मानमती कार्कीको मृत्यु भएको प्रहरीले बताएको थियो। उद्धार र खोजी कार्य जारी रहेकोले क्षतिको यकिन विवरण प्राप्त हुन बाँकी रहेको प्रहरीले बताएको छ। घटनास्थलमा उद्धार कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ। दार्चुला सदरमुकाम खलंगाको बंगाबगड क्षेत्रमा आएको बाढीले ठूलो क्षति पुर्याएको छ। स्थानीयका अनुसार करिब डेढ दर्जन घरहरू बगेका छन् । यस्तै बंगाबगड क्षेत्रमा आधा दर्जन घर महाकालीले बगाएको छ। खलंगास्थित दशरथनगर आधारभूत विद्यालय पनि बाढीले बगाएको छ। दार्चुला तिंकर सडक अवरुद्ध भएको छ। दार्चुला तिंकर सडकमा पार्किङमा राखिएका चार वटा जीपहरु महाकालीले बगाएको छ । महाकाली नदी नियन्त्रण आयोजनाले निर्माण गरेको पक्की तटबन्धमा क्षति पुर्याएको छ । जिल्लाका बाढीपहिरो पीडितका लागि राहत लग्न उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूसहित प्रदेशका मन्त्रीहरुको टिम दार्चुला पुगेको छ ।

