डडेल्धुरा। सुदूरपश्चिम प्रदेशमा सडक दुर्घटना कम गर्न ‘टाइम कार्ड’ (निश्चित समय) लागू गरिएको छ।डडेल्धुरादेखि तराइका दुई जिल्ला कैलाली र कञ्चनपुर जाँदा र कैलाली र कञ्चनपुरबाट डडेल्धुरा आउने सवारी साधनमा ‘टाइम कार्ड’ लागू भएको छ । सडक दुर्घटना कम गर्न सुदूरपश्चिम प्रदेशमा फेरि ‘टाइम कार्ड’ (निश्चित समय) लागू गरिएको हो ।
डडेल्धुरादेखि तराइका दुई जिल्ला कैलाली र कञ्चनपुर जाँदा र कैलाली र कञ्चनपुरबाट डडेल्धुरा आउने सवारी साधनका लागि ‘टाइम कार्ड’ लागू भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख एसपी प्रवीण धितालका अनुसार डडेल्धुरादेखि अत्तरियासम्म ४ घण्टा १५ मिनेट र डडेल्धुरादेखि महेन्द्रनगरसम्म सवारी चलाउदा ५ घण्टा १५ मिनेट समय निर्धारण गरिएको बताए।
एसपी धितालका अनुसार सवारीसाधन चलाउदा डडेल्धुरादेखि बुडर सम्मको ५४ किलोमिटर दूरी पार गर्दा कम्तिमा पनि २ घण्टा लगाउनुपर्ने र बुडरदेखि अत्तरिया सम्मको ६३ किलोमिटर दुरी पार गर्दा २ घण्टा १५ मिनेट र अत्तरियादेखि महेन्द्रनगर सम्मको ४३ किलोमिटर दूरीका लागि एक घण्टा समय निर्धारण गरिएको बताए । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रमुख, प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टले चाडपर्वमा हुने दुर्घटना न्यूनीकरण र चालकबीच हुने अस्वस्थ प्रतिस्पर्धा रोक्नका लागि टाइम कार्ड सुरु गरिएको बताए । बस, जीप लगायत यात्रुवाहक सवारी साधनमा टाइम कार्ड लागू हुनेछ ।