धनगढी। कैलालीको गोदावरी नगरपालिकाको निमार्ण कार्य अन्तिम चरणमा पुगेको छ । कार्यालयको भवन ५ महिना अगाडी उद्घाटन गरिएको थियो । भवन निर्माणाधिन अवस्थामै रहेको बेला गत बर्षको चैत्र १४ गते तत्कालिन गोदावरी नगरपालिकाका मेयर हरी सिह साउँदले उद्घाटन गरेका थिए । उक्त समयमा करिब ८५ प्रतिशत मात्रै काम सकिएको थियो ।
एशियाली विकास बैंक एडिबीको सहयोगमा क्षेत्रीय सहरी विकास आयोजना कार्यान्वयन इकाई धनगढी मार्फत निर्माण भइरहेको उक्त भवन नगर प्रमुख साउँदले दातालाई जानकारी नदिई उद्घाटन गरेका थिए । उक्त भवन अझै नगरपालिकालाई हस्तान्तरण गरिएको छैन । हाल भवनको निर्माण कार्य अन्तिम चरणमा पुगेको क्षेत्रिय सहरी विकास आयोजना धनगढी कार्यालयका इन्जिनियर द्रोण कटुवालले बताए । उनले भवनको काम ९८ प्रतिशत भन्दा बढी सकिएको बताए ।
भवन निर्माणको काम करिब सकिन लागेको छ । अबको केहि दिन भित्रमा भवनको सयुक्त रुपमा अवलोकन गरेर भवन हस्तान्तरणको तयारी रहेको उनले बताए । भवन निर्माणका लागि एम एस शर्मा एण्ड कम्पनीसंग २०७६ साल मंसिर २० गते १० करोड ३८ लाख ६ हजार ८ सय १५ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो। सुरुमा गरिएको सम्झौता अनुसार भवन निर्माणको काम २०७८ साउन २० गते सकिने उल्लेख छ । पछि पटक पटक गरेर ३ पटक थपिएको म्याद पनि जेठ मसान्तमा सकिसकेको छ। कोरोना महामारीको कारण देखाउँदै भवन निर्माणको म्याद स्वतः थपिएको थियो । नगरपालिकाको भवन निर्माणका लागि गोदावरी नगरपालिका – २ तेघरीमा झण्डै १५ कठ्ठा जमीन यसअघि नै खरिद गरिएको थियो । हाल गोदावरी नगरपालिकाको आफ्नै भवन नहुदाँ अत्तरियाको धनगढी रोडमा रहेको निजी भवनमा भाडामा सञ्चालनमा रहेको छ ।