कैलाली। नेकपा (एकीकृत समाजवादी)सुदूरपश्चिम कमिटीले पार्टीका केन्द्रीय सदस्य तथा प्रदेश कमिटी उपसचिव तारा लामा तामाङलाई कारबाही गरेको छ । पार्टीको अनुशासन र मर्यादा बाहिर गएर पार्टीको बैधानिक व्यवस्था विरुद्ध संसद बैठक तथा सार्वजनिक स्थानमा अभिव्यक्ति दिएको भन्दै कावार्ही गरीएको बताइएको छ।
पार्टीका सुदूरपश्चिम प्रदेश अध्यक्ष हर्क बहादुर सिंहले एक विज्ञप्ती जारी गर्दै तामांगलाई कारबाही गरीएको जाकारी दिएका छन्। तामाङले हिजोको प्रदेश सभा बैठकमा आफू नेकपा एकीकृत समाजवादीमा नरहने र एमाले रोज्ने बताएका थिए । उनको उक्त अभिव्यक्तिविरुद्ध पार्टी प्रदेश अध्यक्ष हर्क बहादुर सिंहले विज्ञप्ति जारी गर्दै कारबाही गरेको जनाएको हो।
केन्द्रीय सदस्यसमेत रहेको तामाङलाई साधारण सदस्यसमेत नरहने गरि कारबाही गर्न सिफारिस गरिएको छ । विज्ञप्तीमा भनिएको छ ‘नेपाल कम्यूनिष्ट पार्टी ( एकीकृत समाजवादी) का केन्द्रीय कमिटी सदस्य तथा सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव तारा लामा तामाङ्ग विगत केही समय अगाडी देखि पार्टीको वैधानिक व्यवस्था उलङघ्न गरी पार्टी विरुद्वका गतिविधिमा संलग्न रहदै आउनु भएको उल्लेख छ ।
र आफ्नो पदिय जिम्मेवारी विरुद्व मिति २०७९÷०५÷१३ गते का दिन सुदूरपश्चिम प्रदेश सभा वैठकमा विशेष समय लिएर अव उप्रान्त नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी)मा नरही निर्वाचित भएको पार्टी नेकपा (एमाले) को सदस्यको हैसियतले प्रस्तुत रहने भनी संसद वैठक र सार्वजनिक रुपमा वोल्नु भएकाले नेपाल कम्यूनिष्ट पार्टी (एकीकृत समाजवादी) को पार्टी विधानको धारा ६४– १, २, ४,६,र ६४–ख–८को प्रकृया वमोजिम सुदूरपश्चिम प्रदेश कमिटी उपसचिव पदमा नरहने गरी कार्वाही गरिएको छ ।उनलाई प्रदेश सभा सदस्यको पदबाट पनि कारबाही गर्नसमेत संसदीय दललाई निर्देशन दिइएको छ। नेकपा एमालेबाट निर्वाचित भएका उनी एमाले विभाजनपछि नेकपा एस समाजवादीमा सनाखत गरेका थिए । आर्थिक मामिला तथा योजनामन्त्री समेत भइसकेका तामाङ नेकपा एकीकृत समाजवादीका सुदूरपश्चिम प्रदेश उपसचिव हुन् ।