धनगढी : संघ र प्रदेशको निर्वाचन मिति घोषणासँगै दलहरू उम्मेदवार छान्ने गृहकार्यमा जुट्न थालेका छन् । उम्मेदवारको विषयमा सहमति जुटाउनका लागि दलका शीर्ष नेताहरूबीच दैनिक छलफल भइरहेका छन् । आसन्न निर्वाचनमा सत्ता गठबन्धन र नेकपा एमालेबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । ४ मंसिरमा हुने निर्वाचनका लागि सत्ता गठबन्धनभित्र रहेको नेकपा माओवादी केन्द्रले पनि तयारी थालिसकेको छ ।
माओवादीबाट संघ र प्रदेशसभाका लागि उम्मेदवार छनोट गर्ने ठोस आधार तय भइनसके पनि शीर्ष नेताहरूले एक किसिमको धारणा बनाएका छन् । हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा माओवादीले उम्मेदवार चयनका लागि ६ वटा आधार तय गरेको थियो । स्थानीय निर्वाचनमा विशेष परिस्थितिमा बाहेक सामान्यतया विगतका प्रतिनिधिलाई नदोहार्याउने उम्मेदवार छनोटको पहिलो आधार थियो । देश जनता पार्टी र क्रान्तिप्रति निष्ठावान रहेको हुनुपर्ने, स्वच्छ छवि भएको हुनुपर्ने, विजयको सम्भावना भएको लोकप्रिय व्यक्ति छनोटमा ध्यान दिने, पार्टी अनुशासनप्रति निष्ठावान हुनुपर्ने र समानुपातिक समावेशी प्रतिनिधित्वका आधारलाई विशेष ध्यान दिनुपर्ने जस्ता आधार तय गरेर स्थानीय तहको निर्वाचनमा माओवादीले उम्मेदवार छानेको थियो ।
सुदूरपश्चिम प्रदेशका शीर्ष नेताहरूको धारणा बुझ्ने हो भने स्थानीय तहमा उम्मेदवार छनोट गर्न तय गरिएका आधार नै अवलम्बन गरिने देखिएको छ । माओवादी सुदूरपश्चिम प्रदेश इन्चार्ज खगराज भट्टले पार्टीले उम्मेदवार छनोटका आधारहरू अहिले नै तयार भइनसकेको भए पनि केही मूलभूत पक्षमा जोड दिनुपर्ने बताए । गठबन्धन दलहरूको कार्यदलले भूगोलको निर्वाचन क्षेत्रको टुंगो लगाइसकेपछि ठोसरूपमा उम्मेदवार चयनको आधार अगाडि बढाइने भए पनि केही मूलभूत पक्षमा जोड दिनुपर्ने उनको भनाइ छ ।
सम्बन्धित निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्ताको मनोभावना बुझेको, व्यक्तिगत र सामाजिकरूपमा राम्रो छवि भएको, जनतामा खराब आचरण नभएको, संसदमा आउँदा पनि प्रभाव पार्न सक्ने व्यक्तिलाई उम्मेदवार बनाउँदा उपयुक्त हुने इन्चार्ज भट्टको तर्क छ । तर, सम्बन्धित उम्मेदवारलाई पार्टीको जिल्ला निर्वाचन कमिटी र क्षेत्रीय निर्वाचन कमिटीले सिफारिस गरेको हुनुपर्नेमा भट्टले जोड दिए ।
पार्टीले उम्मेदवार छनोट गर्दा गठबन्धनमा रहेका दलको सुझाव समेतलाई ध्यान दिइने उनको भनाइ छ । ‘गठबन्धनका दलहरूसँग राम्रो सम्बन्ध स्थापना गर्न सक्ने व्यक्ति प्राथमिकतामा रहन्छन् । हामी पनि गठबन्धन दलका उमेदवारका बारेमा सुझाव दिन्छौँ र सुझाव माग्छौँ । यसो गर्दा कसैले पनि पराजय बेहोर्नुपर्ने अवस्था आउँदैन,’ इन्चार्ज भट्टले भने । विगतमा प्रदेश वा प्रतिनिधिसभा उम्मेदवार भइसकेको हकमा आलोचित नभएको र राम्रो काम गरेको उम्मेदवारलाई मात्र दोहोर्याउन सकिने अन्यथा पुनः उही व्यक्तिलाई टिकट दिइने सम्भावना नरहेको उनको भनाइ छ ।
माओवादी केन्द्रका सुदूरपश्चिम प्रदेश अध्यक्ष हरि चौधरी उत्सवले पनि आगामी संघ र प्रदेशको निर्वाचनमा उम्मेदवार छनोटका सम्भावित आधारको बारेमा आफ्नो धारणा व्यक्त गरेका छन् । उनी विगतमा समानुपातिक प्रणालीबाट सांसद भएका र आलोचित सांसदलाई पुनः उम्मेदवार बनाउन नहुने बताउँछन् । अध्यक्ष चौधरीका अनुसार चुनाव जित्ने सम्भावना भएको व्यक्तिलाई उम्मेदवार बनाउनुपर्ने छ । उनी भन्छन्, ‘विगतमा समानुपातिक प्रणालीबाट सांसद बनाइएका व्यक्ति र आलोचित भइसकेका व्यक्तिलाई कुनै पनि हालतमा दोहोर्याउन सकिँदैन । समानुपातिक सभासदलाई पुनः दोहोर्याउने कुरा समावेशी सिद्धान्तकै विपरीत हुन्छ,’ उनले भने, ‘एकपटक सांसद भएर कार्यकर्ता तथा जनतामाझ आलोचित व्यक्तिलाई पुनः दोहोर्याउनु पनि प्रतिउत्पादक हुन्छ ।’
अध्यक्ष चौधरीले चुनाव नजिकिएसँगै कतिपय जनाधार नभएका नेताहरू टिकटकै लागि ठूला नेताको घरदैलो गरिरहेको टिप्पणीसमेत गरे । गाउँमा बलियो जनमत र संगठन बनाउन नसकेका नेताहरू नै टिकट हत्याउनका लागि ठूला नेताहरूको घरदैलोमा पुग्नु पार्टीको हितमा नहुने उनको टिप्पणी छ । बलियो जनमत र संगठनको विश्वास जित्न नसेकेका व्यक्तिहरू केन्द्रस्तरका नेताहरू वरिपरि घुमिरहेको चौधरीले बताए ।
जिल्ला, क्षेत्र र प्रदेश कमिटीबाट सिफारिस नभएर झ्यालबाट टिकट दिने निर्णय भए संगठन हार्ने चेतावनीसमेत उनले बताए । ‘जनमत र संगठनका विश्वास जित्न नसकेको कतिपय नेताहरू झ्यालबाट छिर्न खोज्ने प्रयास गर्नु नेपाली राजनीतिको विडम्बना हो । उनीहरूले शक्ति केन्द्रको वरिपरी घुम्नुभन्दा जनस्तरमा बलियो संगठन र जनमत बनाउन सके सबैलाई राम्रो हुन्थ्यो,’ चौधरीले भने, ‘जिल्ला, क्षेत्र र प्रदेश कमिटीबाट सिफारिस नभएर झ्यालबाट उम्मेदवार बनाइए संगठनले हार्ने देखिन्छ ।’
सुदूरपश्चिम प्रदेश सभामा माओवादीबाट प्रत्यक्ष निर्वाचित र समानुपातिक गरेर १३ जना सांसद छन् । प्रदेशसभामा हाल माओवादी केन्द्रबाट मुख्यमन्त्री त्रिलोचन भट्ट, उपसभामुख निर्मला बडाल जोशी, वनमन्त्री मानबहादुर धामी, कृषिमन्त्री विनिता चौधरी, सभापति कुन्ती जोशी, राज्यमन्त्री मानबहादुर सुनार तथा सांसदहरू अक्कलबहादुर रावल, देवकी मल्ल थापा, नन्दबहादुर साउँद, प्रेम प्रकाश भट्ट, महेशदत्त जोशी, वीरमान चौधरी र शान्ति नेपाली छन् । साभार फरकघारबाट