कञ्चनपुरमा सघिय सांसद प्रदेश पुर्व मन्त्री सहित नेकपा एकिकृत समाजवादी र माओवादी केन्द्रका नेताहरु एमाले प्रवेश गर्न लागेका छन् । एकीकृत समाजवादी पार्टीकी प्रतिनिधिसभा सदस्य विना बुढाथोकी, सुदूरपश्चिम प्रदेशसभा सदस्य पुर्व मन्त्री तारा लामा तामाङ, समाजवादीका पूर्व सुदूरपश्चिम प्रदेश कमिटी अध्यक्ष बिक्रमबहादुर शाही, वेदकोट नगरपालिकाका पूर्वमेयर समेत रहेका समाजवादीका जिल्ला उपाध्यक्ष अशोककुमार चन्दसहितका नेता कार्यकर्ता एमालेमा प्रवेश गर्न लागेका हुन् ।
सांसद बुढाथोकीका श्रीमान् समेत रहेका एकीकृत समाजवादीका वीरबहादुर बुढाथोकी पनि एमाले प्रवेश गर्ने तयारीमा रहेका छन् । समाजवादीका जिल्ला उपाध्यक्षसहितका चार जना पदाधिकारी एमालेमा फर्किने बताइएको छ ।
ती पदाधिकारीकाअनुसार एमालेमा एकीकृत समाजवादी मात्र नभएर नेकपा माओवादी केन्द्रबाट समेत ठूलो संख्यामा नेता तथा कार्यकर्ता प्रवेश गराउने तयारी छ ।संविधानसभा सदस्य समेत रहेका हरिश ठकुल्ला उर्फ कमल क्षेत्री र नेता मोहन गिरी पनि पार्टी प्रवेश गर्दैछन् ।
समाजवादी र माओवादीबाट नेता तथा कार्यकर्ताहरु प्रवेश गर्ने भएपछि एमालेले भदौ १५ गते महेन्द्रनगरमा जनसभा तथा पार्टी प्रवेश कार्यक्रम राखेको छ । भेलालाई सम्बोधन गर्न र नेताहरुलाई पार्टीमा स्वागत गर्न अध्यक्ष केपी शर्मा ओली महेन्द्रनगर आउने कार्यक्रम तय भएको छ ।