सुदूरपश्चिम। नेकपा माओवादी केन्द्रले आगामी संसदीय निर्वाचनमा सुदूरपश्चिम प्रदेशमा ६ सिटमा दाबी गरेको छ। सुदूरपश्चिममा संघका १६ निर्वाचन क्षेत्र छ। जसमध्ये माओवादीले ६ सिटमा दाबी गरेको हो। अहिले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नकेपा (एकीकृत समाजवादी)सहितको सत्ता गठबन्धन छ। आगामी मंसिर ४ मा हुने आम निर्वाचनमा सत्ता गठबन्धन मिलेर निर्वाचनमा जाने सहमति भइसकेको छ।
संघ र प्रदेशमा देशभर सत्ता गठबन्धनका साझा उमेदवार हुनेछन्। आफूहरुले कम्तिमा पनि संघमा ६ र प्रदेशमा १३ सिटमा दाबी गर्ने नेकपा माओवादी केन्द्रका सुदूरपश्चिम इञ्चार्ज खगराज भट्टले बताए ।सत्ता गठबन्धनमा माओवादी दोस्रो ठूलो दल भएकाले पनि आफूहरुको दाबी स्वभाविक भएको भट्टको भनाइ छ । उनका अनुसार कञ्चनपुर–१, दार्चुला, अछाम, डोटी र कैलाली गरी माओवादीले संघका ६ सिटमा दाबी गर्नेछ। केन्द्रको सहमतिअनुसार केही सिटमा स्थान परिवर्तनसमेत हुने सम्भावना छ ।
नेता भट्टले भने, “एमालेसँग वाम एकता हुँदा हामीले पाएको सिट छाड्ने कुरा भएन। त्यसबाहेक अन्य कुरा केन्द्रीय नेतृत्वले टुङ्ग्याउला। गठबन्धन भनेपछि एक दलले चाहेर मात्रै हुँदैन। सबैलाई न्याय र सम्मानजनक उपस्थिति चाहिन्छ।” माओवादीले डोटी दाबी गरेमा त्यहाँ भने सकस हुने देखिन्छ । एकीकृत समाजवादीका प्रेम आले र कांग्रेस नेता वीरबहादुर बलायरको डोटी एकै क्षेत्र हो। माओवादी नेता तथा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको समेत डोटीको सोही क्षेत्र भएकाले उनले संघमा दाबी गरे मिलाउन कठिन हुने देखिन्छ।
मिलाउन समस्या देखिने अर्को क्षेत्र दार्चुला हो। दार्चुलामा माओवादीले संघ नछाड्ने संकेत देखाएको छ। कांग्रेस नेता दिलेन्द्रप्रसाद बडूले पनि यसपटक प्रत्यक्षमा चासो देखाएका छन्। अन्य जिल्लाभन्दा दार्चुलामा माओवादीको उपस्थिती बलियो रहेको गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनले देखाएको छ। माओवादीले दाबी नछाडे बडुको व्यवस्थापन कसरी गर्ने भन्ने हुनेछ। कांग्रेसभित्र बडू देउवाइतर समूहका नेता हुन्।