कञ्चनपुर। कञ्चनपुरको सीमावर्ती भारतीय बजार बनबासा नजिकै जिप दुर्घटना हुँदा कैलाली र कञ्चनपुरका १० जना नेपाली घाइते भएका छन् । भारतीय बजार बनबासाबाट खटिमा बजारतर्फ गइरहेको यात्रुबाहक जीप चरकपुर बजारमा दुर्घटना हुँदा दश नेपाली यात्रु घाइते भएका हुन्।
बनबासाबाट यात्रु बोकेर खटिमातर्फ गइरहेको भारतीय नम्बरको युके ०६ टिए ३५७३ नम्बरको जीप चकरपुरस्थित थाना नजिक सोमबार दुर्घटना भएको खबर प्राप्त भएको गड्डचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ । प्रहरी नायब निरीक्षक बहादुरसिंह धामीले युके ०६ टिए ३५७३ नम्बरको जीप दुर्घटना हुँदा धनगढी, गड्डाचौकी र सुकासाल क्षेत्रका गरी दश नेपाली घाइते भएको बताए ।
दुर्घटनामा परी कञ्चनपुर सुकासालका राधा दयाल, जीतबहादुर दयाल, कञ्चनपुरका हेमा ओझा, दीपक ओझा, धनगढीका चन्द्रा, शानु, बलदेव सिंह, खेमबहादुर, लक्ष्मी र शारदा रहेको बुझिएको छ । तर, उनीहरुको थर भने खुल्न सकेको छैन। घाइतेमध्ये केहीको अवस्था जटिल रहेको र खटिमास्थित सरकारी अस्पतालमा उपचार भइरहेको भारतीय प्रहरीले यहाँको इलाका प्रहरी कार्यालयलाई जानकारी गराएको हो ।तीब्र गतिका कारण जीप दुर्घटना भएको प्रहरीले जनाएको छ। यस्तै फरार रहेका चालकको खोजी पनि जारी रहेको बताइएको छ।