धनगढी : हरेक बर्ष भदौ शुक्ल पञ्चमीदेखि सुरु हुने सुदूरपश्चिमेलीको महान पर्व गौरापर्वको रौनक शुरु हुन थालेको छ । सुदूरपश्चिमका पहाडी जिल्लामा मनाइने गौरा पर्वलाई पहाडबाट तराई झरेकाहरु उत्सवका रुपमा मनाउने गरेका छन् । आफ्नो मौलिक संस्कृती जगेर्ना गर्नका लागी पहाडबाट तराई झरेका समुदायले गौरा पर्वलाई गौरा महोत्सवका रुपमा मनाउन थालेका छन् । यस बर्षपनि डेउडा प्रतिस्ठानले धनगढीमा पहाडी जिल्लाका गौरा प्रदर्शन सहित गौरा महोत्सव मनाउने भएको छ ।
सुदूरपश्चिमेलीहरुको महान चाड गौरा पर्व भदौ शुक्ल पञ्चमिका दिनदेखी बिधिवत रुपमा शुरु हुन्छ । तर भदौ महिना शुरु भएसंगै गौराको रौनक भने शुरु भइसकेको छ । रोजगारीका लागी भारत गएकाहरु गौरा पर्वकै लागी घर फर्किने क्रमपनि बढेको छ । सुदूरपश्चिमेलीहरुको प्रमुख चाडका रुपमा रहेको गौराको पहिलो दिन महिलाले घरघरमा तामाको भाँडामा बिरुडा (पाँच प्रकारका अन्न) भिजाएर गौरा पर्वको विधिवत रुपमा सुरुवात गर्दछन् । करिब एक सातासम्म मनाइने गौरा पर्बलाई पहाडबाट तराई झरेकाहरुलेपनि निरन्तरता दिन थालेका छन् । पहाडबाट तराई झरेपनि आफ्नो संस्कृती जगेर्ना गर्ने उद्देश्यले धनगढीमा गौरालाई महोत्सवकै रुपमा मनाउने गरिएको छ । २०७१ सालबाट गौरा महोत्सव मनाउन थालेको डेउडा प्रतिस्ठानले यस बर्षपनि भदौ १७ गतेदेखी १९ गते सम्म गौरा महोत्सव मनाउन लागेको छ ।
महोत्सवमा प्रादेशिक डेउडा प्रतियोगिता गर्ने, ९ वटै जिल्लाका सांस्कृतिक झाँकी, गौरा प्रदर्शन गर्ने, लोक बाजाहरुको प्रदर्शन गरिने, प्रदेशका ९ वटै जिल्लाका कलाकारहरुको लोक नृत्य तथा लोक गायन प्रस्तुति रहने, बाल प्रतिभा प्रवद्र्धन, लोक क्षेत्रमा जीवन समर्पण गर्ने अग्रज श्रष्टालाई सम्मान गर्ने कार्यक्रम रहेको आयोजकले कार्यक्रमका सांस्कृतीक संयोजक सुरत रावतले बताए ।
महोत्सवमा हुने डेउडा प्रतियोगितामा पुरस्कारको व्यवस्था रहेको जनाइएको छ । प्रथमलाई २५ हजार १ सय ११, दोस्रोलाई १७ हजार १ सय ११, तेस्रोलाई ११ हजार १ सय ११ र सान्त्वनालाई ५ हजार १ सय ११ रुपैयाँको पुरस्कार राशि रहेको डेउडा प्रतिष्ठानले जानकारी दिएको छ । महोत्सव धनगढी उपमहानगरपालिकाको मैदानमा हुने आयोजकले जनाएको छ ।
कला संस्कृतीको संरक्षण तथा प्रचार प्रसार, बाल प्रतिभा प्रवर्घन, संस्कृतीमा युवाको आकर्षण बढाउन गौरा महोत्सवमा आयोजना हुन लागेको हो । कार्यक्रममा प्रादेशिक डेउडा प्रतियोगिता, ९ वटै जिल्लाका झाँकी प्रदर्शन, लोक बाजाको प्रदर्शन लगायत कार्यक्रम रहने छन् । यस गौरा महोत्सवले संस्कृती बिर्षदै गएका नयाँ पुस्तालाई संस्कृती प्रतिको लगाव बढ्ने अपेक्षा लिइएको छ ।
सुदूरपश्चिमको भाषा, कला, साहित्य, संस्कृति, भेषभुषा रहनसहनको प्रचारप्रसार, पर्यटन प्रवद्र्धन एवम पछिल्लो पुस्तालाई लोक संस्कृतिको जगेर्नामा उत्साहित तथा पुस्तान्तरण गर्ने उदेश्यले डेउडा प्रतिष्ठानले सुदूरपश्चिम गौरा महोत्सव २०७९ तथा प्रादेशिक डेउडा प्रतियोगिता आयोजना गर्न लागेको प्रतिष्ठानका अध्यक्ष दलबहादुर बोगटीले बताए । उनले लोक संस्कृतिको संरक्षणमा यूवाको आकर्षण बढाउन, क्षमतावान श्रष्टाहरुको प्रतिभा प्रबद्र्धन गर्न,प्रतिभालाई स्थान दिन तथा अग्रजको सम्मान गर्ने उदेश्य रहेको बताए ।
भदौ शुक्ल पञ्चमीका दिन ब्रत बसी केराउ, गहुँ, मास, गहत र गुरौस मिश्रण गरी (जसलाई विरुडा भनिन्छ) तामाको भाँडामा भिजाएपछि गौरा पर्व सुरु हुन्छ । भदौ शुक्ल पञ्चमीका दिन भिजाइएको बिरुडा भोलिपल्ट षष्ठीका दिन नजिकको धारा, तलाउ वा पोखरीमा लगेर धुने चलन छ। त्यस्तै सप्तमीका दिन गौरा देवीलाई नजिकैको मठमन्दिरमा भित्र्याएर पूजा अर्चना गरी विवाहित महिलाले दुवधागो (मन्त्रिएको एक किसिमको धागो) चढाउने चलन छ । अठवली अर्थात् अष्टमीको दिन व्रत बसेर गौरा पर्व मनाउने स्थल गौरा खला (आँगन)मा पार्वती र शिवको धुमधामका साथ पूजापाठ गर्ने चलन छ । त्यसपछिको दिनहरुमा डेउडा खेल्दै गौरा पर्व मनाउने चलन छ । सुदूरको मौलिक संस्कृति झल्किने गौरा पर्व डडेल्धुरा, दार्चुला, बैतडी, डोटी बझाङ, अछाम, कैलाली, कञ्चनपुर तथा भारत उत्तराखण्डको कुमाउ, गढवालमा समेत मनाउने चलन छ ।