बैतडी–ऐतिहासिक तथा पौराणिक महत्व बोकेको रौलाकेदार धाममा श्रावण महिना शुरु भएयता दर्शनार्थीहरुको घुइँचो लागेको छ । भगवान शिवको बासस्थानको रुपमा रहेको रौलाकेदार धाममा हरेक बर्ष श्रावण महिनाभरी दर्शनार्थीहरुको भीड लाग्ने गरेको मन्दिरका मूल पूजारी विष्णुदत्त भट्टले बताए । जिल्लाको सुर्नया गाउँपालिका ५ मा अवस्थित रौलाकेदार धाम हिन्दूहरुको धार्मिक आस्थाको केन्द्र समेत रही आएको छ । यो मन्दिरमा पुग्नका लागि सुर्नया गाउँपालिकाको केन्द्रबाट उकालो चढ्नुपर्ने हुन्छ । श्रावणको महिना शुरु भएसंगै विभिन्न ठाउँबाट दर्शनार्थीहरु पुग्ने क्रम जारी रहेको छ ।
रौलाकेदारको उत्पत्ति बद्रीकेदारबाट भएकाले रौलाकेदारको महत्व बद्रीकेदार जत्तिकै रहेको रौलाकेदारका पूजारी भट्टले बताए । रौलाकेदारको दर्शन गरेमा मनोकामना पूर्ण हुने भएकाले सबैको आस्थाको केन्द्र बन्न पुगेको उनले बताए ।


