काठमाडौं। राशन घोटाला गरेको आरोप लागेका दार्चुलास्थित सशस्त्र प्रहरीका एसपीको जिम्मेवारी खोसिएको छ । आफू मातहतका सुरक्षाकर्मीलाई बिदामा छाडेर राशनमा अनियमितता गरेको आरोप लागेका दार्चुलास्थित ४४ नम्बर गणका गणपति एसपी त्रिभुवन विष्टको जिम्मेवारी खोसिएको हो। एसपी विष्टलाई गणपतिको जिम्मेवारीबाट हटाएर सशस्त्र मुख्यालय हल्चोकमा तानेर छानबिन सुरु गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
बिष्टलाई हेडक्वार्टर तानेर छानविन सुरु गरिएको सशस्त्र प्रहरी मुख्यालयले जनाएको छ। ‘उहाँलाई केही दिन पहिले नै हेडक्वाटर झिकाइएको थियो। छानविनका सबै कागजात मगाइएको छ। एसपी बिष्टलाई गणको जिम्मेवारीबाट हटाएर छानविन भइरहेको छ’, हेडक्वार्टर स्रोतले भन्यो। कार्यालयमा भएका कर्मचारीमध्ये १० देखि १५ प्रतिशतसम्म मात्रै एक पटकमा बिदामा छाड्न सकिन प्रावधान भए पनि त्योभन्दा बढी ठूलो संख्यामा सुरक्षाकर्मीलाई बिदामा राखेर एसपी विष्टले राशनमा अनियमितता गरेको देखिएपछि उनलाई जिम्मेवारीबाट हटाइएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
गणमा २५८ जना कार्यरत रहेकोमा एसपी विष्टले एकै पटकमा १२२ जनालाई बिदामा राखेर राशन अनियमितता गरेको आरोप छ। राशनमा अनियमितता गरेको आरोप लागेपछि छानबिनका लागि सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पुरुषोतम थापाको नेतृत्वमा समिति गठन गरिएको थियो।समितिले एसपी विष्टलाई बिभागीय कारबाही गर्न सिफारिस गरेपछि उनलाई हेडक्वार्टर तानिएको हो। यसअघि राशनमा घोटालासम्बन्धी सूचना चुहाएको आरोपमा वरिष्ठ हवल्दार नरेश सिंह साहुमाथि कारबाही अगाडि बढाइएको थियो।
हाल उनी मुद्दाको पुर्पक्षका लागि डिल्लीबजार कारागारमा थुनामा छन्। संगठनका गोप्य सूचना मिडियालाई लिक गराएको आरोप साहुमाथि लागेको छ। राशन अनियमितताको मात्रै नभएर हतियार जस्तो संवेदनशील विषयको सूचना समेत बाहिर पठाउने गरेको आरोप उनीमाथि लागेको छ। उक्त आरोप लागेपछि गठन भएको सशस्त्र प्रहरी विशेष अदालतले साहुलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको हो। साहुमाथि लागेको अभियोगका सन्दर्भमा अन्तिम फैसला भने हुन बाँकी नै छ।
रासन भत्तामा अनियमितता गरेको आरोपमा सशस्त्र प्रहरीमाथि छानविन सुरु-रासन भत्तामा अनियमितता गरेको आरोपमा सशस्त्र प्रहरीको ४४ नं गणका गणपतिमाथि छानविन सुरु भएको छ। दार्चुलाको खलंगास्थित गणका गणपति एसपी त्रिभुवन विष्टमाथि छानविन सुरु भएको हो। यसअघि नै एसपी बिष्टलाई सशस्त्रको ७ नं बाहिनीले स्पष्टिकरण सोधेको थियो। बाहिनीबाट स्पष्टिकरणसहितको सम्पुर्ण फाइल हेडक्वाटर झिकाइएको छ। एसएसपी पुरुषोतम थापाको कमाण्डमा छानविन समिति गठन गरिएको थियो। समितिको प्रतिवेदन अनुसार विभागीय कारबाही गर्न ७ नं वैद्यनाथ बाहीनीलाई आदेश दिएको थियो।त्यसपछि बाहिनीले स्पष्टिकरण सोधेको थियो। थप अनुसन्धानका दागि एसपी बिष्ट हेडक्वार्टर तानिएका हुन्।यसअघि रासन भत्तामा अनियमितता गरेको सूचना दिने सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार थुनामा छन् सूचना दिएको आरोपमा सशस्त्र प्रहरी बल नं २५ चण्डीका गण पर्वत दरबन्दी भई हाल सशस्त्र नं ४४ गण दार्चुलामा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुलाई थुनामा पठाइएको छ।
हवल्दारलाई कारबाही गरे पनि एसपीलाई जोगाएको आरोप लाग्दै आएको थियो। चौतर्फि विरोधपछि सशस्त्रले एसपीलाई जिम्मेवारीबाट तानेको हो।गणका प्रमुख बिष्टले रासन भत्तामा अनियमितता गर्ने उदेश्यले यसरी बिदा छाडेको आरोप छ। सुरक्षा निकायमा एकसाथ यति धेरै बिदा छाड्न समेत पाइँदैन। गणमा कार्यरत बिदामा बस्दा रासन भत्ता कटौती हुने गरेको छ।गणमा २५८ जना कार्यरत रहेकोमा १२२ जनालाई एकसाथ बिदामा छाडिएको भने पुष्टि भइसकेको छ। हवल्दारले सूचना दिएका स्थानीय पत्रकारले स्रोतको गोपनियता नराख्दा उनी समस्यामा परेका हुन्।यस्तो अनियमितताको बारेमा जानकारी दिने हवल्दारलाई सर्वस्वसहित जन्म कैदको माग गर्दै सशस्त्रले मुद्दा अगाडी बढाएको छ।समाचार सार्वजनिक भएपछि एसपी बिष्टले यस विषयमा छानबिन गरेका थिए। छानबिनका क्रममा हवल्दार साहुले सूचना दिएको पुष्टि भएको थियो। पत्रकारले पनि आफूलाई हवल्दार साहुले नै सूचना दिएको खुलाइदिएका थिए।
गत जेठ २८ गते स्थानीय अनलाइनले एकसाथ १२२ सशस्त्र बिदामा रहेको समाचार प्रकाशन गरेको थियो। एसपी बिष्टले उक्त समाचारको खण्डन गरेका थिए। तर उनले अस्वीकार गरे पनि हवल्दारले दिएको सूचना सत्य भएको अनुसन्धानबाट खुलेको छ।असार २२ गते सशस्त्र प्रहरीको विशेष अदालतमा हवल्दार साहु विरुद्ध मुद्दा दायर भएको थियो। विशेष अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ। अन्तिम फैसला हुन बाँकी छ।त्यसअघि गरिएको छानबिनमा पनि साहुलाई दोषी देखाइएको छ। सशस्त्र प्रहरीले गणमा रहेका हात हतियार र जनशक्तिको बारे पनि सूचना दिएको आरोप लगाएको छ।संगठनका विरुद्ध उनले बेनामी उजुरी समेत हालेको छानबिनबाट खुलेको सशस्त्रको दाबी छ। सशस्त्र प्रहरी ऐन, २०५८ को बर्खिलाप गरेको भन्दै साहुलाई असार २४ गते पुर्पक्षका लागि थुनामा पठाइएको थियो।आरोप प्रमाणित भएमा निजलाई सर्वस्व सहित जन्मकैद हुन सक्छ। संगठनको सूचना यसरी अनधिकृत रुपमा बाहिर पठाएमा हदै सम्मको कारबाही गरिने सशस्त्र प्रहरी ऐनमा नै स्पस्ट व्यबस्था रहेको सशस्त्र प्रहरी प्रधान कार्यालय श्रोतको दाबी छ।