सुदूरपश्चिम। प्रतिनिधि र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेसँगै सुदुरपश्चिममा चुनावी सरगर्मी बढेको छ। सरकारले ४ मंसिरमा निर्वाचनको मिति घोषणा गरेसँगै प्रतिनिधि र प्रदेशसभाका सम्भावित उम्मेदवारहरूको चर्चा सुरु भएको छ। सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभाका सम्भावित उम्मेदवारको दौडधुप र चर्चा सुरु भएको छ। यद्यपि, सत्ता गठबन्धन दलबीच सिट बाँडफाँटको टुंगो भने लागिसकेको छैन। गठबन्धनमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा आबद्ध छन्।
राप्रपा, लोसपा, जसपाबाट छुट्टिएका बाबुराम भट्टराईको पार्टी र वामदेव गौतम नेतृत्वको दललाई पनि गठबन्धनमा सहभागी गराउने प्रयास पनि भइरहेको छ।सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६ सिट छ। जसमध्ये डडेल्धुराबाट कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, दार्चुलाबाट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको नाम अग्र पङ्क्तिमा छ। डोटीबाट एकीकृत समाजवादीका प्रेमबहादुर आले र कांग्रेसका वीरबहादुर बलायर, अछामबाट एमालेका भीमबहादुर रावल, कञ्चनपुरबाट कांग्रेसका रमेश लेखक, एनपी साउद र माओवादी केन्द्रबाट विना मगरको नाम चर्चामा छ। यसैगरी, कैलालीबाट प्रधानमन्त्रीपत्नी डा. आरजु राणा देउवा, एमालेका लेखराज भट्टलगायत नेताको चर्चा छ।
जनाधार कसको कमजोर, कसको बलियो ? – सुदूरपश्चिम प्रदेशबाट प्रतिनिधिसभाको सांसदका लागि सबैभन्दा बलिया नेता कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा हुन् । प्रतिनिधिसभामा एउटा मात्रै निर्वाचन क्षेत्र रहेको डडेल्धुराबाट २०४८ सालदेखि लगातार चुनाव जित्दै आएका देउवा यसपालि पनि त्यहीँबाट चुनाव लड्ने निश्चित छ । देउवाले अहिलेसम्म संसदीय निर्वाचनमा हार्नुपरेको छैन । पछिल्लो समय उनलाई नेकपा माओवादी केन्द्रका खगराज भट्टले टक्कर दिँदै आएका छन् । तर, उनलाई हराउन भने सकेका छैनन् । २०६४ को निर्वाचनमा देउवसँग भट्ट झिनो मतान्तरले पराजित भएका थिए । यो चुनावमा पाँचदलीय गठबन्धन कायम रहे देउवाको प्रतिस्पर्धा एमालेसँग हुनेछ । यस्तै, कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर–२ बाट एनपी साउदको चर्चा छ । २०६४ सालदेखि क्षेत्र नम्बर २ बाट चुनाव लड्दै आएका साउद अहिलेसम्म एकपटक मात्रै विजयी भएका छन्।
०७४ को निर्वाचनमा एमालेका नरबहादुर धामीसँग उनी पराजित भएका थिए। उनी २०७० मा निर्वाचित भएका थिए। २०६४ मा पनि साउद पराजित भएका थिए । साउद केन्द्रीय राजनीतिका प्रभावशाली नेता हुन्। साउदको निर्वाचन क्षेत्रमा तीनवटा नगरपालिका पर्छन् ।स्थानीय चुनावमा बेदकोट र कृष्णपुर नगरपालिकाको मेयररउपमेयर दुवैमा कांग्रेस विजयी भएको थियो। शुक्लाफाँटा नगरपालिकाको उपमेयरमा पनि कांग्रेस विजयी भएको छ । यस्तै, कञ्चनपुर क्षेत्र नम्बर–३ बाट रमेश लेखकको सम्भावना बलियो छ। २०५६ देखि क्षेत्र नम्बर ३ बाट चुनाव लड्दै आएका लेखकले ०५६ र ०७० मा चुनाव जितेका थिए ।
०७४ को चुनावमा भने उनी नेकपा एमालेका नेता दीपकप्रकाश भट्टसँग पराजित भए । ०६४ को चुनावमा लेखकले शेरबहादुर देउवाका लागि सिट छोडेका थिए । स्थानीय तहको चुनावमा लेखकको भीमदत्त नगरपालिकाको मेयरमा कांग्रेस पदमा बोगटी निर्वाचित भएका थिए ।कञ्चनपुर क्षेत्र नम्बर–१ बाट माओवादी केन्द्रकी विना मगरको चर्चा छ । २०७४ मा निर्वाचित मगर यसपालि पनि क्षेत्र नम्बर १ बाटै उम्मेदवार बन्ने चर्चा छ । अहिले उद्योगमन्त्री रहेका दिलेन्द्र बडू दार्चुलाबाट चुनाव लड्ने चर्चा छ । २०७४ को चुनावमा समानुपातिक निर्वाचन प्रणालीमार्फत सांसद भएका बडू योपटक प्रत्यक्ष चुनाव लड्ने तयारीमा छन् ।०७४ को चुनावमा कांग्रेसका विक्रम धामी उम्मेदवार बनेका थिए। उनलाई एमालेका नेता गणेशसिंह ठगुन्नाले पराजित गरेका थिए । स्थानीय तहको चुनावी परिणामलाई हेर्ने हो भने बडूलाई जित्न त्यति सहज छैन। स्थानीय चुनावमा नौवटा पालिका रहेको दार्चुलामा कांग्रेस शून्य छ। दुई नगरपालिकासहित ५ पालिका एमाले र ४ पालिका माओवादी केन्द्रले जितेका छन्।
डोटीबाट नेकपा एकीकृत समाजवादीका प्रेम आले चुनाव लड्ने तयारीमा छन्। २०७४ को चुनाव कांग्रेसका वीरबहादुर बलायरलाई पराजित गरेका आलेले योपटक पनि टिकटका लागि लविङ गरिरहेका छन् । तर, सिट बाँडफाँट गर्दा कांग्रेस र एकीकृत समाजवादी कसले पाउने हो, त्यो भने टुंगो लागेको छैन ।अघिल्लोपटक एमालेबाट आलेले चुनाव जितेकाले बलायरका लागि कांग्रेसले नै डोटी लिनुपर्ने हुन्छ । तर, एकीकृत समाजवादीले त्यति सजिलै डोटी कांग्रेसलाई दिन तयार छैन। स्थानीय तहको चुनावी परिणाम केलाउने हो भने डोटीमा कांग्रेस हाबी देखिन्छ।
दुई नगरपालिका र ७ गाउँपालिकामध्ये दुई नगरपालिका र पाँचवटा गाउँपालिकामा कांग्रेस विजयी भएको थियो । एमाले र माओवादी केन्द्रले एक/एक गाउँपालिका जितेका छन्। डोटीमा एकीकृत समाजवादीले कुनै पनि पालिकामा जित हासिल गर्न सकेको छैन । कैलाली क्षेत्र नम्बर–४ बाट २०७४ मा निर्वाचित लेखराज भट्टलाई यो पालिको चुनाव जित्न कठिन छ। ०७४ मा माओवादी केन्द्रबाट जित हासिल गरेका भट्ट अहिले एमालेमा छन्। अघिल्लो चुनावमा भट्टले कांग्रेसका सुनिल भण्डारीलाई पराजित गरेका थिए । स्थानीय चुनावमा भट्टको गोदावरी नगरपालिका प्रमुखमा कांग्रेस विजयी भएको थियो।
०६४ सालदेखि नै कैलाली-४ बाट चुनाव जित्दै आएका भट्टलाई योपटक भने जित्न सहज छैन। अछाम क्षेत्र नम्बर–१ बाट निर्वाचित एमाले नेता भीमबहादुर रावल योपटक पनि चुनाव लड्ने तयारीमा छन्। तर, उनलाई योपटक जित्न सहज छैन ।निर्वाचन क्षेत्र एकमा चारवटा गाउँपालिका र एक नगरपालिका छन्। जसमध्ये स्थानीय तहको चुनावमा साँफेबगर नगरपालिकाको मेयरमा कांग्रेस विजयी भएको छ । चार गाउँपालिकामध्ये तीनवटा पालिकाको अध्यक्षमा समेत कांग्रेसले जित हात पारेको छ। २०७४ को चुनावमा रावलले कांग्रेसका भरतकुमार स्वाँरलाई पराजित गरेका थिए। योपटक कांग्रेससहितको पाँचदलीय गठबन्धन हुँदा रावललाई चुनाव जित्न कठिन हुने देखिन्छ। शिलापत्रबाट