काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । भेटमा आगामी चुनावको तयारी, सत्ता गठबन्धनको विस्तार लगायतका विषयमा छलफल भएको बालुवाटार स्रोतले जानकारी दिएको छ। दुईबीच डा. बाबुराम भट्टराई र वामदेव गौतमलाई पनि सत्ता गठबन्धनमा ल्याउनेबारे छलफल भएको बताइएको छ।
नेपाल समाजवादी पार्टीका अध्यक्ष भट्टराईले यसअघि प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डलाई भेटेर आफू सत्ता गठबन्धनमै रहेको भन्दै सोही अनुसारको भूमिका दिन आग्रह गरेका थिए । प्रचण्ड भने भट्टराईसँगै गौतमलाई पनि सत्ता गठबन्धनमा ल्याउने प्रयासमा छन्।नेकपा राष्ट्रिय एकता अभियान घोषणा गरेका गौतम अहिले राजनीतिमा निस्क्रिय जस्तै छन् । भट्टराईले भने सत्ता गठबन्धनमै रहेर गोरखाबाट चुनावी प्रतिस्पर्धामा उत्रने आन्तरिक तयारी गरेका छन् । यसमा देउवा र प्रचण्ड सकारात्मक रहेको स्रोतको भनाई छ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई कसरी समेट्ने भन्नेमा पनि दुई नेताबीच परामर्ष भएको छ। लोसपाले सरकारमा जान इच्छा देखाए पनि जसपा अध्यक्ष उपेन्द्र यादवका कारण रोकिएको छ । यादवले लोसपालाई कुनै हालतमा सत्ता गठबन्धनमा ल्याउन नहुने अडान राखिरहेका छन् । तर प्रधानमन्त्री देउवा भने लोसपालाई पनि सरकारमा ल्याएर गठबन्धनमै समेट्ने पक्षमा छन् । प्रचण्ड जापान भ्रमणबाट फर्केपछि प्रधानमन्त्रीसँग पहिलो पटक भेट भएको हो । दुईबीच प्रतिनिधिसभा र प्रदेशसभा चुनावको रणनीतिबारे समेत छलफल भएको बताईएको छ।