कैलाली। सुदूरपश्चिम प्रदेशमा सञ्चालनमा रहेका विमानस्थलमध्ये दुईवटा नाफामा र ४ वटा घाटामा रहेको पाइएको छ। आर्थिक वर्ष २०७८/०७९ मा बाजुराको कोल्टी विमानस्थलले १२ लाख बढी नाफा कमाउँदा बझाङ, बैतडी, डोटी, अछामको विमानस्थल घाटामा रहेको पाइएको हो।कोल्टी विमानस्थलले ५० लाख ५६ हजार आम्दानी गरेको छ भने ३८ लाख २१ हजार खर्च गरेको छ। कोल्टी विमानस्थलको कुल नाफा १२ लाख ३५ हजार रहेको छ।यस्तै धनगढी बिमानस्थलले ४ करोड ८२ लाख आम्दानी गरेकोमा १ करोड ७८ लाख खर्च गरेको छ । भने ३ करोड ४ लाख नाफा गरेको छ ।
तर बझाङ, बैतडी, डोटी, अछामको विमानस्थलले भने घाटा व्यहोरेका छन्। बझाङ विमानस्थलले १० लाख ६३ हजार आम्दानी भएकोमा १२ लाख ८ हजार खर्च भएको छ भने १ लाख ४५ हजार घाटामा रहेको जनाइएको छ। यता, बैतडीको विमानस्थलले ५५ हजार मात्रै आम्दानी भएको जनाएको छ। ७ लाख ४६ हजार खर्च गरेको छ। विमानस्थल ६ लाख ९१ हजार घाटामा रहेको जनाइएको छ। डोटीको विमानस्थलले १ लाख ४६ हजार आम्दानी भएकोमा ९ लाख ८ हजार खर्च, ७ लाख ६२ हजार घाटा व्यहोरेको छ। यस्तै अछामको साँफेबगर विमानस्थलले १३ लाख १५ हजार आम्दानी भएको, १३ लाख ६६ हजार खर्च र ५१ हजार घाटा व्यहोरेको छ। यस्तै ३ वटा बिमानस्थल बन्द अवस्थामा रहेका छन्। भने एक वटा बिमालस्थल निर्माणाधिन अवस्थामा रहेको जनाइएको छ ।
हाल नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५३ वटा विमानस्थल छन्। त्रिभुवन विमानस्थल र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाहेक ५१ वटा विमानस्थल आन्तरिकरुपमा प्रयोगका लागि स्थापना भएका हुन्। जसमध्ये हाल ३४ वटा सञ्चालनमा छन्। तीमध्ये तराई र उच्च हिमालीक्षेत्रमा रहेका विमानस्थल मात्रै नाफामा रहेको नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले बताए। यस्तै ठूलो लगानीमा निर्माण भएका नेपालका अधिकांश हवाई पूर्वाधार बेवारिसे अवस्थामा छन्। नेपालमा बनेका ५३ वटा विमानस्थलमध्ये करिब दुई तिहाई विमानस्थल घाटा वा बन्द अवस्थामा रहेका हुन् । हाल नेपालमा आन्तरिक र अन्तर्राष्ट्रिय गरी ५३ वटा विमानस्थल छन्। त्रिभुवन विमानस्थल र गौतमबुद्ध विमानस्थल अन्तर्राष्ट्रिय हुन् । यसबाहेक ५१ वटा विमानस्थल आन्तरिकतर्फ प्रयोग गर्ने लक्ष्यसहित निर्माण भएका हुन्। तर, आर्थिक वर्ष २०७८/७९ मा सञ्चालनमा रहेका ३४ वटा आन्तरिक र अन्तर्राष्ट्रिय विमानस्थलमध्ये १८ वटा नाफामा छन् । बाँकी १६ वटा विमानस्थल भने घाटामा सञ्चालन भइरहेका छन् । यस्तै, बाँकी १९ वटा विमानस्थल वर्षौँदेखि घाँसे मैदानमा परिणत भएर बेवारिसे अवस्थामा छन् ।