कैलाली। कैलालीमा साढे ११ हजार मतदाता थपिएका छन्। कैलाली जिल्लामा मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यबाट ११ हजार ४ सय ३० नयाँ मतदाता थपिएका प्रदेश निर्वाचन कार्यालय धनगढी कैलालीले जनाएको छ । प्रतिनिधिसभा र प्रदेश सभा सदस्य निर्वाचनलाई लक्षित गरी मुलुकभर मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यबाट कैलालीमा पनी नयाँ मतदाता थपिएका हुन् ।
वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा कैलालीमा मतदाताको संख्या ५ लाख २५ हजार एक सय २५ थियो। त्यसपछि वैशाख ३० गतेयता ११ हजार चार सय ३० नयाँ मतदाता थपिएर हाल कैलालीको मतदाता संख्या ५ लाख ३६ हजार ५ सय ५५ पुगेको जनाइएको छ । प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार कैलालीमा एक मतदान स्थल पनि थप गरिएको छ भने तीन मतदान स्थल सारिएका छन्। एक मतदान स्थल थपिएपछि कैलालीमा २ सय ३७ मतदान स्थल रहनेछन्।
प्रदेश निर्वाचन आयोगका निमित्त प्रमुख प्रेम भट्टले कैलालीमा पाँच वटा निर्वाचन क्षेत्र रहेका र पाँच प्रतिनिधि सभा सदस्य र १० प्रदेश सभा सदस्यका लागि निर्वाचन हुने जानकारी दिए । साउन १९ गतेबाट मतदाता नामावलीमा नाम दर्ता, विवाह दर्ता र बसाइसराइको काम बन्द गरिएको छ। अब निर्वाचन केन्द्रित दल दर्ताका लागि आयोगले आइतबारबाट आह्वान गरेको भट्टले बताए। निर्वाचन कार्यालयले आवश्यक सामग्रीको आंकलन, व्यवस्थापन तथा पुराना सामग्रीको तथ्यांक अध्यावधिकको काम गर्न थालेको छ। जिल्लामा ३० राजनीतिक दल दर्ता रहेकाले उनीहरूका उम्मेदवारहरू हुनेछन्।