धनगढी। सुदूरपश्चिम प्रदेश सरकारले हालसम्म १९ करोड रुपैयाँ इन्धन खरिदमै खर्च गरेको छ। प्रदेश सरकार गठन भएको ०७५/७६ देखि ०७८/७९ सम्मको चार वर्ष अवधिमा प्रदेश सरकारका सबै निकायमा गरी कूल १९ करोड ३३ लाख ६० हजार खर्च भएको विवरण प्राप्त भएको छ । इन्धनको खर्च रकम वर्षेनी बढेको बढ्यै देखिएको पाइएको छ ।
जसअन्तर्गत ०७५/७६ मा ३ करोड १७ लाख २३ हजार, ०७६/०७७ मा ४ करोड ६० लाख २९ हजार,०७७/०७८ मा ४ करोड ७० लाख २१ हजार खर्च गरेको थियो । गएको आर्थिक वर्ष ०७८/०७९ मा सरकारले अघिल्लो आर्थिक वर्षको भन्दा झण्डै दुुई करोड बढि रकम खर्च गरेको पाइएको छ। ०७८/०७९ मा सरकारले ६ करोड ८५ लाख ७६ हजार खर्च गरेको देखिएको छ।
प्रदेश सरकार अन्तर्गत मन्त्रालयहरु तथा मन्त्रालय अन्तर्गतका विभिन्न निकायहरुले इन्धन खर्च मनमर्जी खर्च गरिरहेको तथ्यांकबाट पुष्टि हुन्छ । अन्तराष्टिय रुपमा इन्धनको भाउ बृद्धि भएर हरेक देशले खपत घटाउन उपाय गरिरहेका बेला सुदूरपश्चिममा भने मैफल देखिएको छ । चालु आर्थिक वर्षका लागि पनि सरकारले इन्धनका लागि प्रयाप्त बजेट विनियोजन गरेको छ ।