धनगढी : छाडा पशु चौपायाका नाममा स्थानिय तहले करोडौँ रकम खर्च गरेपनि सो खर्चले सार्थकता नपाउँदा हजारौँ छाडा चौपायाहरु राजमार्गमा छन् । राजमार्ग क्षेत्रमा छाडा रहेका चौपायाका कारण बर्षेनी दुर्घटना बढिरहेका छन् । स्थानिय तहको निर्वाचनमा छाडा चौपाया ब्यवस्थापन गर्ने उमेदवारका बाचापनि बाचामै सिमित भएका छन् । सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय छाडा पशुका कारण सडक दुर्घटना बढेका छन् ।
५ बर्ष स्थानिय तहको नेतृत्व गरेका कैलाली र कञ्चनपुरका अधिकाशं प्रमुख÷उप प्रमुखहरुले छाडा पशु ब्यवस्थापनलाई प्रमुख मुद्धा बनाएका थिए । छाडा पशु ब्यवस्थापनको प्रमुख मुद्धा निर्वाचितपछि फितलो बन्दै गयो । र छाडा पशु ब्यवस्थापनमा खाशै प्रगती देखिएन । भरखरै निर्वाचित भएका प्रमुख÷उप प्रमुखको मुद्धापनि छाडा पशु चौपाया ब्यवस्थापननै थियो । तर त्योृ मुद्धापनि हालसम्म कार्यान्वयनमा आएन । पशु चौपाया ब्यवस्थापनका मुद्धा उठाउने तर नेतृत्वमा पुगिसकेपछि बिर्षिने परम्पराले बर्षेनी पशु र यहाँका नागरिकले अकालमा ज्यान गुमाउनु परेको छ ।
सुदूरपश्चिम प्रदेशमा गत आर्थिक बर्षमा मात्रै छाडा पशुका कारण ३८ सवारी दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रहरी निरिक्षक रण बहादूर बिष्टले बताए । उनका अनुसार दुर्घटनामा परी ३ जनको मृत्यु भएको छ भने, ४३ जना घाइते भएका छन् । यस्तै दुर्घटनाकै कारण २९ चौपायाको मृत्यु भइसकेको छ भने, १० चौपाया घाइते छन् । चालु आर्थिक बर्षको पहिलो महिनाको हालसम्म मात्रै छाडा पशुका कारण ३ वटा दुर्घटना भइसकेका छन् । दुर्घटनाबाट १ जनाले ज्यान गुमाए भने ३ जना घाइते भएको प्रहरी निरिक्षक बिष्टले बताए ।
दुर्घटना मात्रै होइन छाडा पशुले किसानका खेतबाली नस्ट पार्ने लगायतका समस्या यथावत छन् । चुनावी नारा मात्रै बनाउने उमेदवारहरुले नेतृत्वमा पुगिसकेपछि छाडा पशु ब्यवस्थापनका लागी दीर्घकालिन योजना बनाउन नसक्दा समस्या समाधान नभएको स्थानिय बताउँछन् । धनगढीका कमल पनेरुले छाडा पशु ब्यवस्थापनमा स्थानिय सरकार गम्भिर बन्नुपर्ने बताए । यो स्थानिय सरकारको दायित्व हो उनले भने “दीर्घकालिन सोच बनाएर ठुलो क्षेत्रमा गौशाला खोल्नुपर्छ सामान्य गौशालाले गाई गोरु ब्यवस्थापन गर्न समस्या हुने देखिन्छ ।”
चौपाया ब्यवस्थापनमा स्थानिय सरकार सम्बेदनशिल नबनेको गुनासो बढिरहँदा आम पशु पालकमाथीपनि प्रश्न उठेको छ । पशु पालकहरुले दुध दिदासम्म पाल्ने र दुध दिन छोडेपछि सडकमा छोड्ने प्रबृती बढेको स्थानिय बताउँछन् । गाई संरक्षणका लागी आम किसान, पशुपालक संगै सबैभन्दा महत्वपुण भुमिका स्थानिय सरकारको हुनुपर्ने आम नागरिकको जोड छ ।
बिगतको स्थानिय सरकारलेपनि केही गर्न खोजेकै हो धनगढीका केशव पाण्डेयले भने “अहिलेको स्थानिय तह पनि गर्ला तर यो सामान्य गौशालाले समाधान हुँदैन यसमा प्रदेश सरकारकोपनि सहकार्य हुनुपर्छ र आम नागरिकहरुले गाई छोड्ने प्रबृती त्याग्नुपर्छ ।” स्थानिय तहले भएका छाडा गाई गोरु ब्यवस्थापन गर्दै अब छोड्नेहरुलाई कडा कार्वाही नगर्दासम्म समस्या समाधान नहुने उनको भनाई छ ।
एकातर्फ सडक चौडा गर्ने क्रम बढेसंगै सवारी साधनको चाप र गतीपनि बढेको छ । त्यस कारणपनि सडकमा छोडिएका पशुका कारण दुर्घटना बढेको छ । स्थानिय सरकारले लगानी गरेर मात्रै छाडा पशु ब्यवस्थापनको योजना नबनाई दीर्घकालिन योजनाका साथ सरकारको आम्दानी समेत हुने गरी ब्यवस्थापनमा लागे सबैका लागी हित हुने थियो ।