कैलाली। बाढीले कैलालीको खुटिया खोलाको पुल जोखिममा परेको छ। लगातार पानी परेपछि आएको बाढीका कारण खुटिया खोलाको पुल जोखिममा परेको हो। बाढीले पुल सुरक्षित राख्न बनाएको कटपवालसमेत भत्काउँदा पुल जोखिममा परेको स्थानीयले बताएका छन्।
पुलको दक्षिणतर्फ करिब १०० मिटर कटप पानीले बगाउँदा पुल नै जोखिममा परेको छ। यसअघि कटपवाल ४० मिटर मात्रै बगाउँदा सडक डिभिजन कार्यालयलाई जानकारी गराइएको थियो। सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख हरि सुवेदीले त्यसबेला आफू भर्खरै आएको बताउँदै त्यसबारेमा बुझ्ने बताए । कटपवाल तत्काल मर्मतका लागि जनशक्ति परिचालनसमेत गर्ने उनले बताए।
तर, समयमानै मर्मत नगर्दा थप ६० मिटर कटपवाल बगाउनुका साथै नदी नियन्त्रणका लागि लगाइएको ढुंगाको जाली समेत बगाउने स्थितिमा पुगेको स्थानीय बासिन्दा करण बोगटीले बताए। स्थानीय बोगटीले कटप वाल असुरक्षित बन्दै गएको र बाढी आउँदा कुनै पनि बेला भत्काउन सक्ने भन्दै सडक डिभिजन कार्यालयलाई जानकारी गराएको बताए । उनले जानकारी गराउँदासमेत वास्ता नगरेका कारण कटप वाल भत्किएको गुनासो गरे ।सडक डिभिजन कार्यालय महेन्द्रनगरका प्रमुख सुवेदीले बर्षात्को समय भएको र त्यसका लागि बजेट समेत भएको बताउदै बर्षापछि मर्मत गरिने बताएका छन् ।