धनगढी। कैलाली कञ्चनपुरका सडक छाडा पशुचौपायाले कब्जा जमाउन थालेका छन्। पशुपालक घरधनीले बिभिन्न कारणले गाई तथा गोरू छोड्दै जाने प्रवृत्तिले सडकमै छोडीदिँदा र स्थानिय निकायले यस्को सहि ब्यवस्थापन नगर्दा पशुचौपायाले सडक नै कब्जा जमाउन थालेका हुन्।
कैलाली र कञ्चनपुरका सडकका विभिन्न चोक, मुख्य आवतजावत गर्ने सडक,चौराहलगायतका ठांउहरुमा पशुचौपाया बिच सडकमै ठुलो समुह बनाएर जम्मा हुने र बस्ने गरेका छन्। हुन त पशुको नै के दोष छ र । जहाँ धपायो त्यतै जान्छन्, जहाँ रोकायो त्यतै बस्छन्। दोष त पशुपालक घरधनी र स्थानिय निकायको नै हो। कतिपय स्थानीय तहले छाडाचौपाया नियमन गर्न कार्यविधि लागू गरे पनि त्यसको कार्यान्वयन नगरदिदा अहिलेसम्म त्यसको ब्यवस्थापन हुन सकेको छैन् ।
छाडाचौपाया ब्यवस्थापनका लागी बिभिन्न एजेण्डा नै बनाएर निर्वाचित भएका जनप्रतिनधीले अहिले अहिलेसम्म त्यसको ब्यवस्थापन गर्न सकेका छैनन्। धनगढीका झलक दवाडीले सामाजिक सञ्जालमा ब्यङ्ग्य गर्दै लेखेका छन्, धनगढीमा ट्राफिक ब्यबस्थापनमा सहयोग गर्दैछन् गौमाताले । गौमाताको ब्यबस्थापन गर्न मेयर साप गोपाल हमाल अल्लि भ्याउनु भको छैन, फुर्सद हुनसाथ ब्यबस्थापन भन्ने शब्द फेरि आइहाल्छ । कृपया बाटोमै यस्तै उस्तै गरेर समय कटाउनु होला । धनगढीका मान्छे सोझा छन् , बाटोमा बसे पनि ठिकै छ, घरभित्रै पसेपनी ठिकै छ । स्थानीय निर्वाचनमा छाडा पशुचौपाया व्यवस्थापनलाई मुख्य ऐजेण्डा बनाएर धनगढीको मेयरमा स्वतन्त्र उमेद्धार गोपाल हमाल निर्वाचित भएका थिए। तर उनी निर्वाचित भएर आइसकेपनि अहिले धनगढीका हरेक वडाका चोक र सडकमा छाडा पशुचौपायाको समस्या यथावत् नै रहेको छ । सुदूरपश्चिम प्रदेशको अस्थायी मुकाम धनगढी क्षेत्रका छाडा पशुचौपायाले ठूलो समस्या निम्त्याएका छन । एकातर्फ किसानका धानबाली र तरकारी बाली सखाप पार्दै आएका छन् भने अर्कोतर्फ सडक दुर्घटनाका प्रमुख कारण बनेका छन् ।
निर्वतमान नगर प्रमुख नृपबहादुर वडले छाडा पशुचौपाया नियन्त्रण्का लागि धनगढीका ठाउँठाउँमा काञ्जी हाउस निर्माण गरेको स्थानीयहरुको भनाई छ । तर, दिनानुदिन संख्या बढ्दै गएपछि समस्या जस्ताको त्यस्तै भएको स्थानीयहरुको भनाई छ । धनगढीका स्थानीय नवराज रोकायाले भने, ‘छाडा पशुचौपाया नियन्त्रण्का लागि पहिलेका मेयरले त केही गरेका थिए । तर, छाडा पशुचौपाया व्यवस्थानलाई मुख्य ऐजेण्डा बनाएर चुनाव जितेका मेयर हमालले आजसम्म व्यवस्थापनका लागी ठोस कदम चाल्न सकेका छैनन्।स्थानीयका अनुसार छाडा पशुचौपायाले अन्नबाली, बारीमा लगाएको तरकारी, घास खाएर हैरान गरेको बताएका छन् । छाडा पशुचौपायाका कारण रातभरी नसुति बस्नुपर्ने बाध्यता भएको गुनासो गरेका छन् ।
स्थानीयहरुले नगरपालीकाले छाडा पशुचौपाया व्यवस्थापनमा चासो दिएर यथासिघ्र समस्याको समाधान गर्नुपर्ने माग गरेका छन् । हुलाकी सडकमा अटो रिक्सा चलाउंदै आएका विरेन्द्र रावलले छाडा पशुचौपाया बिच बाटोमा समूहमा बस्ने गरेका कारण सवारी दुर्घटना समेत हुने गरेको बताए ।उनले भने छाडा चौपायाहरु बिच बाटोमा बसेर हर्न बजाउंदा पनि बाटो नछोड्ने गरेकाले यात्रा गर्न कठिनाई भएको छ। धनगढीमा भएका दुर्घटना मध्ये करिब २० प्रतिशत दुर्घटनाका कारक पशु चौपाया नै हुने गरेको ट्राफिक प्रहरीको दावी छ । धनगढीका १४, १८ र १९ वडाले छाडा पशुचौपाया ब्यवस्थापनका लागी संयुक्तरुपमा पहल थालेका छन्। धनगढी १९ का वडा सदस्य हरेन्द्र ऐडीले साउन १४ गते तीन वटै वडाको सयुक्त बैठक बसी छलफल गरेको बताए । बैठकले हरेक वडा बाट ५ जनाका दरले १५ सदस्यीय छाडा पशुचौपाया व्यवस्थापन समिति गठन गरेको बताए ।
उनले सो समितिलाई तीन वटा वडाका चौपाया व्यवस्थापनका लागी योजना बनाउने र कार्यान्वयन गर्ने जिम्मेवारी दिएको बताए । धनगढीका नवनिर्वाचित मेयर हमालले विजयी भएको छोटो समयमा पशुचौपाया ब्यवस्थापनका लागी धेरै पहल गरेको बताए। यो बर्षको बजेट बाट वडा न।१४,१८ र १९ को एक ठांउमा , वडा न। ६,११ र १३ को एक ठांउमा, वडा न। १५,१६ र १७ एक ठांउमा र धनगढी बजार क्षेत्रको लागी एक ठांउमा पशुचौपायाको लागी संरचना बनाउने योजना रहेको बताए। हामीले सडकमा रहेका पशुको ब्यवस्थापन गर्दै जाने जनताले दुध खाइसकेपछि सडकमा लगेर छोड्दै जाने गरेमा चौपाया ब्यवस्थापन गर्न कहिलै नसकिने उनको भनाई छ। यो सिर्जित समस्या भएकाले स्थायी समाधानका लागी जनता सचेत भएर स्थानीय सरकार संग मिलेर जानु पर्ने उनले बताए। तत्कालको लागी सडकमा रहेका पशुचौपाया लाई अत्तरीयाको गौशालामा लगेर राख्ने उनले जानकारी दिए। वैशाखदेखि साउन दोस्रो सातासम्म मात्र छाडा चौपायाकै कारण २ जना पुरुषको मृत्यु भएको छ भने २ जना महिला घाइते भएका छन्। यस्तै दुर्घटनामा १२ पशुचौपाया मरेका छन् भने १५ घाइते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीको तथ्यांक छ। त्यस्तै छाडा चौपायाकै कारण थप २० जना पुरुष घाइते भएका छन्। कैलाली र कञ्चनपुरमा गत आर्थिक वर्षसम्म मात्र छाडा पशु चौपाया व्यवस्थापनको नाममा स्थानीय तहहरुले ३ करोड बढी रकम खर्चेका छन्।


