कैलाली। धनगढीमा एक व्यवसायीको जग्गामा अवैध काठ गाडिएको अवस्थामा फेला परेको छ। धनगढी वडा नम्बर ६ जालीका करन चौधरीको खेतको जमिनमा गाडिएको अवस्थामा अवैध काठ फेला परेको स्थानियले बताएका छन्। चौधरी धनगढी उपमहानगरपालीका ५ मा काठ व्यवसाय सञ्चालन गर्दै आएका छन् ।
चौधरीले आफ्नो जमिनमा अवैध काठ गाडेको स्वीकार गरेका छन्। उनले जंगलबाट ल्याएको काठ नभई आफ्नै खेतमा ढलेको रुखको काठ भएको बताए । उनले आफुले जेसीबीले काठ पुरेको बताउँदै सामुदायिक वनका अध्यक्षलाई लगेर जान भनेपनी नलगेको बताए । त्यसपछि काठ ढाक्न माथिबाट ग्राभेल हालेको उनले भने ।व्यवसायी चौधरीले ढलेको सालको रुख माटोले पुरेको बताएपनि उक्त क्षेत्रमा ठुलो परिणामको अवैध काठ रहेको स्थानियहरुले आशँका गरेका छन्। ग्राभेल र भरान गरिएको माटोमुनी धेरै सालका गोलियाहरु रहेको स्थानियहरुले बताए।
स्थानियहरु, करन चौधरी ठुलो काठ व्यवसायी भएकाले सबै डराउने गरेको बताउँछन्। स्थानियका अनुसार वनका कर्मचारीसँग मिलेमतो रहेको र रातिको समयमा आर्थिक चलखेल भएर छोडिएको स्थानीयले बताएका छन्। जंगलदेखि १० फिटको दुरीमा जमिनमा गाडिएको ठुलो परिणामको काठ रहेको छ, एक स्थानियले भने । करन चौधरीको जंगल कटेजको प्रवेशदवारदेखि १५ फिटको दुरीमा पनि जमिनमा गाडिएको अवैध काठ रहेको स्थानीयले बताए । काठ व्यवसायीले जमिनमुनी काठ रहेको स्वीकार गरेपनि वनका कर्मचारीले छानविन गर्न नसकेको आरोप लागेको छ।
वनका कर्मचारीले जेसीबी नभएको भन्दै उत्खनन् नसकिएको बताएका छन्। डिभिजन वन कार्यालयको समूह ढिलोगरि मात्र घटना स्थलमा पुगेको थियो । उनीहरु पहिले डिभिजन वन कार्यालय कैलालीका निमित्त प्रमुख पूर्णशंकर यादवको निवास गएका थिए। निमित्त प्रमुखले व्यवसायी चौधरीसँग लेनदेन गरेको हुनसक्ने आशंका छ। डिभिजन वन कार्यालयका निमित्त प्रमुख यादव फोन सम्पर्कमा आएनन् ।


