धनगढी। धनगढीमा स्थापनाको ४६ वर्षपछि योजनावद्ध रुपमा फोहोरमैला व्यवस्थापन प्रक्रिया थालिने भएको छ। धनगढीमा फोहोरमैला व्यवस्थापनको ठूलो समस्या र चुनौति व्यहोरिरहेकोमा अहिले एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न ठेक्का मूल्यांकनको काम सुरु भएको हो।
क्षेत्रीय सहरी विकास आयोजनामार्फत निर्माण हुने फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणको ठेक्का स्वीकृतीका लागि निर्माण कम्पनीको मूल्यांकनका कामअघि बढाइएको हो। क्षेत्रीय सहकारी विकास आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी द्रोण कटुवालले ठेक्का स्वीकृतीका लागि मूल्यांकनको चरणमा रहेको बताए। क्षेत्रीय सहरी विकासले ८ जुन २०२२ मा बोलपत्र आह्वान गरेको थियो। सूचना अधिकारी ईन्जिनियर द्रोण कटुवालले एकीकृत फोहरमैला व्यवस्थापन ऐन २०६८ अनुसार कुहिने र नकुहिने फोहोरलाई छुट्याएर एकीकृत फोहरमैला व्यवस्थापन केन्द्रमा विसर्जन गरिने बताए।
एशियाली विकास बैंकको एक अर्ब पाँच करोड सहुलियत ऋण लगानीमा फोहरमैला व्यवस्थापन केन्द्र निर्माणका लागि ठेक्का मूल्यांकनको काम भइरहेको सूचना अधिकारी कटुवालले बताए।
यद्यपी, एकीकृत फोहोरमैला व्यवस्थापन निर्माणका लागि उपमहानगरपालिकाले जग्गाको भोगाधिकार र संघीय सरकारबाट वातावरणीय प्रभाव मूल्यांकन नभएको उनले बताए। उपमहानगरपालिकाले वडा नम्बर ७ को पटेलास्थित राष्ट्रिय वन क्षेत्रमा एकीकृत फोहोरमैला व्यवस्थापन निर्माणका लागि प्रस्ताव गरेको २२ हेक्टर क्षेत्रफल भोगाधिकार र वातावरणीय प्रभाव मूल्यांकन स्वीकृत भएको छैन।‘ठेक्का सम्झौता र जग्गाको भोगाधिकारको कामसँगै अगाडि बढाइएको छ।
जग्गा प्राप्तिपछि मात्र ठेक्का सम्झौता गर्दा समय बढी लाग्ने भएकाले यस्तो गरिएको कटुवालले भने । ‘संघीय वन मन्त्रालयमार्फत जग्गाको फाइल मन्त्रिपरिषद्मा जाने र जग्गा प्राप्तिको प्रक्रिया चाँडै पूरा हुने विश्वास लिएको बताए । निवर्तमान मेयर नृपबहादुर वडको पालामा उपमहानगरपालिकाले वडा नम्बर २, ११ र १३ मा ल्याण्डफिल साइटका लागि उपयुक्त जग्गाको अध्ययन गरिएकोमा वडा नम्बर २ बैयाबेहडीमा जग्गाको निधो भएको थियो। तर, स्थानीयको विरोधपछि त्यहाँ बन्न सकेन। धनगढी उपमहानगरपालिकामा अहिले दैनिक १२ देखि १६ टन फोहर संकलन हुँदै आएको छ। तर, उपमहानगरपालिकामा हालसम्म फोहोरमैला व्यवस्थापनका लागि ल्याण्डफिल साइट नहुँदा संकलित फोहोरमैला नदीखोलामा फाल्ने गरेको छ। धनगढीमा रहेका मोहना नदी तथा सुकुटी नाला, कैलाली नालालगायतका खोलानाला किनारामा हाल संकलित फोहोरमैला फाल्ने गरिएको उपमहानगरपालिकाको कार्यालयले जनाएको छ। फोहोरमैला व्यवस्थापनका लागि कुनै निश्चित ठाउँ नभएकोले नदी, खोलानालामा फाल्नुपर्ने बाध्यता छ। भिम चौधरी