दार्चुला। भारतीय सुरक्षाकर्मीले तुइनको लट्ठा खुस्काइदिँदा महाकाली नदीमा खसेर बेपत्ता भएका दार्चुलाका ३३ वर्षीय जयसिंह धामीको अवस्था १ वर्ष बित्दा पनि अज्ञात छ । नेपालले प्रभावकारी कूटनीतिक पहल नगर्दा र भारतीय पक्षले घटना अनुसन्धानमा असहयोग गर्दा अपराधमा संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याइएको छैन ।
वैदेशिक रोजगारीका लागि प्रक्रिया अघि बढाउन काठमाडौंका लागि हिँडेका दार्चुलाको व्यास गाउँपालिका–२, माल (खाङदाङ) का धामी २०७८ साउन १५ मा मालघाटबाट तुइनबाट महाकाली नदी तरेर भारतको गस्कु जाने क्रममा नदीमा खसेका थिए। गृहमन्त्रालयद्वारा सहसचिव जनार्दन गौतम नेतृत्वमा गठिन छानबिन समितिले एसएसबीका सुरक्षाकर्मीले लट्ठा खुस्काइदिएपछि तुइनबाट खसेर धामी बेपत्ता भएको निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो ।
सोही प्रतिवेदनका आधारमा परराष्ट्र मन्त्रालयले २०७८ भदौ १८ मा भारतलाई कूटनीतिक नोट पठाउँदै घटनामा संलग्न एसएसबीका सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन र बेपत्ता धामीको परिवारलाई राहत दिलाउन माग गरेको थियो । कूटनीतिक नोटको जवाफ भारतले अहिलेसम्म नदिएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ । गौतम नेतृत्वको समिति गृह मन्त्रालयले घटनाको तेस्रो दिन साउन १७ मै बनाएको थियो । तीन पटक म्याद थपेपछि काम सकेको समितिले भदौ १५ मा गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाएको थियो । त्यसको तीन दिनपछि भदौ १७ मा भारतसँग कूटनीतिक संवाद गरी तुइन घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन गृहले परराष्ट्रलाई प्रतिवेदनसहित पत्र पठाएको थियो । त्यसको भोलिपल्ट परराष्ट्रले नेपालस्थित भारतीय दूतावासमार्फत भारतलाई कूटनीतिक नोट पठाएको थियो ।
तुइनले लिइरहेछ ज्यान- परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले यस विषयमा आफूलाई पछिल्लो अवस्थाबारे जानकारी नरहेको बताइन् । ‘त्यो त पुरानो कुरा भयो, भारतबाट पत्रको जवाफ आएरनआएको बुझेर मात्रै भन्न सकिन्छ,’ उनले भनिन् । गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले पनि धामी महाकाली नदीमा खसेर बेपत्ता भएको विषयमा परराष्ट्रबाट एक वर्षअघि कूटनीतिक नोट पठाएको बाहेक अरू विषय आफूलाई जानकारी नरहेको बताए।धामी बेपत्तालगत्तै जिल्ला प्रशासन कार्यालय दार्चुलाले तुइन काट्ने व्यक्ति पहिचान र कारबाहीका लागि पिथौरागढस्थित जिल्लाधिकारी (डिस्ट्रिक मेजिस्ट्रेट) लाई लेखेको पत्रको जवाफ भने आएको थियो।भोलिपल्ट पठाएको पत्रको जवाफमा भारतीय प्रशासनले घटनामा आफ्नो पक्षको संलग्नता इन्कार गरेको थियो। ‘त्यसयता भारतले यस विषयमा कुनै जानकारी नेपाललाई गराएको छैन,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो। भारतका लागि नेपालका पूर्वराजदूत नीलाम्बर आचार्य भने भारतीयका कारण आफ्नो देशको नागरिक नदीमा हेलिएर बेपत्ता भएको संवेदनशील घटनामा सरकार गम्भीर नदेखिनु दुःखद भएको बताउँछन् ।‘आफ्नो देशको नागरिक भारतीयका कारण नदीमा खसेर बेपत्ता भएको विषयमा कूटनीतिक नोट पठाएर मात्रै सरकारको जिम्मेवारी पूरा हुँदैन,’ उनले कान्तिपुरसँग भने, ‘घटनामा संलग्नलाई पहिचान गरी कारबाहीको दायरामा ल्याउन भारत तयार नभएसम्म हामीले झकझकाइरहनुपर्छ ।’ धामी तुइनबाट खसेर बेपत्ता भएलगत्तै दुवै देशका सुरक्षाकर्मी मिलेर संलग्नको खोजबिनमा लाग्ने गरी कूटनीतिक पहल हुनुपर्नेमा त्यसो नगरेर सरकारले कमजोरी देखाएको उनको भनाइ छ । पूर्वराजदूत आचार्यले भारतसँग औपचारिक, अनौपचारिक कोणबाट कुरा गरेर धामी बेपत्ता घटनामा संलग्नलाई कारबाहीको दायरामा ल्याउन पहल गर्न आवश्यक रहेको बताए ।
दार्चुला तुइन प्रकरण : एसएसबीको संलग्नता किटान गर्दै भारतलाई पत्र
दुवै देशका सरकार र शीर्ष नेताहरूका लागि धामी तुइनबाट खसेको विषय औपचारिक छलफलको एजेन्डा पनि बनेको छैन । उक्त घटनापछि प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदी तथा सत्तारूढ दलका शीर्ष नेताहरूले एकअर्काको देशमा भ्रमण गरिसकेका छन् । प्रधानमन्त्री देउवाले २०७८ चैत १८ मा भारतको औपचारिक भ्रमण गरेका थिए । त्यस्तै २०७९ जेठ २ मा भारतीय प्रधानमन्त्री मोदी लुम्बिनी भ्रमणमा आएका थिए । दुवै भ्रमणमा दुई देशका प्रधानमन्त्रीबीच भेटवार्ता भए पनि तुइन घटना प्राथमिकतामा परेन ।कान्तीपुरबाट मातृका दाहाल