धनगढी। धनगढी उपमहानगरपालिका, जिल्ला ट्राफिक प्रहरी कार्यालय र यातायात व्यवस्था कार्यालयको प्रतिवद्धतापछि अटोरिक्सा चालक काममा फर्किएका छन्। ट्राफिक प्रहरीले चालक अनुमति पत्र (लाइसेन्स) नभएको भन्दै दैनिक जरिवाना तिराउन थालेपछि आइतबार सेवा ठप्प पारेर आन्दोलित भएका विद्युतीय रिक्सा चालकहरु सो प्रतिवद्धता जनाएपछि आन्दोलन फिर्ता लिएर काममा फर्किएका हुन्।
सरोकारवाला पक्षले विद्युतीय रिक्सालाई व्यवस्थित गर्ने प्रतिवद्धता जनाएका छन् । यदि सो प्रतिबद्धता कार्यान्यन नगरे फेरी आन्दोलनमा उत्रने बताएका छन्। विद्युतीय रिक्सा चालक संघका अध्यक्ष मिनराज जोशीले धनगढी उपमहानगरपालिकाले रिक्सालाई व्यवस्थित गर्न कार्यविधि बनाइरहेको तथा ट्राफिक प्रहरी र यातायात व्यवस्था कार्यालयले चालक अनुमति पत्र लाइसेन्सका लागि छिट्टै आवेदन खोल्ने प्रतिवद्धता जनाएको जानकारी दिए। उहाँहरुको प्रतिबद्धतापछि हामी आन्दोलनका कार्यक्रम फिर्ता गरेर नियमित काममा फर्किएका छौँ,’ जोशीले भने, ‘तत्काल लाइसेन्सको विषयलाई लिएर प्रहरीले जरिवाना नलिने तर रिक्साको ब्लुबुक नबोकेको खण्डमा भने कारवाहीको दायरामा ल्याउने सहमति भएको छ ।’