धनगढी। नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पदम बिक्रम सिंह निर्वाचित भएका छन् । आज धनगढीमा सम्पन्न नाट्टा सुदुरपश्चिम प्रदेश संघको आठौँ बार्षिक साधारण सभा तथा चौथो अधिबेशनबाट अध्यक्षमा सिंह निर्बाचित भएका हुन् । उनी तीन कार्यकाल महासचिव भएर संगठनलाई चलायमान बनाएका थिए ।
यस्तै कार्यसमितिको उपाध्यक्षमा धनन्जय जैसी, महासचिवमा शिवहरि पाण्डे, कोषाध्यक्षमा लोकराज भट्ट, सचिवमा सबिता ऐर निर्बाचित भएका छन् । यस्तै प्रदेश कार्यसमिति सदस्यहरुमा पदम बहादुर चन्द, बिक्रम ठकुल्ला, किशोर खड्का, मेखेन्द्र खत्री चयन भएका छन् । यस अघि साधारणसभा तथा अधिवेशनको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रणबहादुर रावलले उद्घाटन गरेका थिए । नाट्टा सुदूरपश्चिमका अध्यक्ष मायाप्रकाश भट्टको अध्यक्षतामा भएको उद्घाटन शत्रमा प्रदेश नीति तथा योजना आयोगका सदस्य मोहनदेव बिष्ट रहेका थिए । यस्तै
भिमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी, नाट्टाका केन्द्रीय अध्यक्ष रमेश थापा, कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापा, होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बम, सुदूरपश्चिम प्रदेश उद्योग वाणिज्य महासंघका कार्यकारी निर्देशक ज्योती भट्ट लगायतले शुभकामना मन्तव्य राखेका थिए । नाट्टा सुदूरपश्चिमका सचिव शिवहरी पाण्डेले स्वागत गरेको उद्घाटन समारोहको सञ्चालन महासचिव पदम बिक्रम सिंहले गरेका थिए । कार्यक्रमको उद्घाटन समारोहमा धनगढीका दुई जना पत्रकारलाई सम्मानित गरिएको थियो । नेपाल पर्यटन पत्रकार महासंघ कैलालीका अध्यक्ष भिम चौधरी र कान्तिपुर टेलिभिजनका उप सम्पादक टेकराज जोशीलाई सम्मानित गरिएको थियो । सुदूरपश्चिम प्रदेशको पर्यटनको विकासका लागि संचार माध्यमहरुमा निरन्तर समाचार तथा सूचना सम्प्रेषण गरी पर्यटन प्रवद्र्धनमा उल्लेखनीय भूमिका निर्वाह गरेको भन्दै सम्मानित गरेको हो ।