कञ्चनपुर। कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा ३६ सहित देशभर बाघको संख्या ३ सय ५५ पुगेको पाइएको छ । कञ्चनपुरमा रहेको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा सन २००९ मा त्यहाँ ८ ओटा बाघ रहेकोमा अहिले त्यो संख्या बढेर ३६ पुगेको हो। शुक्रवार विश्व बाघ दिवसको अवसरमा शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले आयोजना गरेको कार्यक्रममा उक्त जानकारी दिइएको हो। विगत १३ वर्षयता गरिएको सर्वेक्षणमा बाघको संख्यामा उल्लेखनीय वृद्धि भएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिए।
आफूहरुले जडान गरेका क्यामेराबाट खिचिएका तस्बिरबाट बाघको संख्यामा वृद्धि भएको जानकारी पाएको उनले बताए। अहिले निकुञ्जमा १६ पोथी, १२ भाले रहेको तथा अन्यको लिङ्ग पहिचान नभएको उनले बताए।
निकुञ्जमा सन् २००९ मा ८ वटा, २०१३ मा १७ ओटा, २०१८ मा १६ र २०२२ मा आएर बाघको संख्या ३६ ओटा पुगेको छ। बाघलाई चाहिने आहारा प्रजातिको घनत्व बढेको, चोरी शिकारीमा कमी र स्थानीय तथा सामुदायिक वनका पदाधिकारीहरु लगायतको सहयोगले निकुञ्जमा बाघको संख्यामा बढोत्तरी भएको संरक्षण अधिकृत ऐरले बताए। निकुञ्ज नजिक बस्ने स्थानीयको वन प्रवेश बढ्दै गइरहेको अवस्थामा बाघको बासस्थान मासिँदै गएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालय सहायक संरक्षण अधिकृत मनोज ऐरले बताए। पछिल्लो २ वर्षमा निकुञ्जमा २ ओटा बाघ मृत फेला परेको बताइएको छ। गत मंसिर १९ गते सुरू भएर फागुन २८ गते बाघ गणना सम्पन्न भएको थियो।
यस्तै सबैभन्दा बढी चितवन राष्ट्रिय निकुञ्ज र बर्दिया राष्ट्रिय निकुञ्जमा १२५-१२५ पुगेको छ। त्यसैगरी पर्सा निकुञ्जमा ४१, शुक्लाफाँटा निकुञ्जमा ३६ र बाँके निकुञ्जमा २५ वटा बाघ छन् । बाघ पाइने पाँच वटै राष्ट्रिय निकुञ्जमा सङ्ख्या बढेको छ। सन् २०१० मा नेपालमा १ सय २१ बाघ रहेका थिए। विश्वबाटै बाघ लोपहुने आशंकाले सन् २०१० मै रुसको सेन्ट पिटर्सवर्गमा बाघ पाइने देशहरुले गरेको प्रतिवद्धता अनुरुप नेपालले सन् २०२२ मा लक्ष्य पूरा गरेको छ। सन् २०१८ मा २३५ वटा बाघ रहेकोमा चार वर्षमा १२० बाघ थपिएका छन्। बासस्थान व्यवस्थापन, उल्लेख्य आहारा प्रजाती, चोरी शिकार नियन्त्रण र बाघ संरक्षणमा समुदायको सहकार्यले गर्दा बाघको संख्यामा वृद्धि भएको बताइएको छ।


