काठमाडौं। जनता समाजवादी पार्टी सांसद नरमाया(प्रज्ञा) ढकालले जेलमा रहेका नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीको रिहाइ माग गरेकी छन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा उनले जनताको भारी मतले चुनिएर पनि राजनैतिक मुद्दामा फसाइएकाले संसद्को कार्यकाल सकिन लाग्दासमेत आफ्नो आवाज राख्न नपाएको बताइन् ।
थारू जातिको अधिकार रक्षाका लागि लडिरहेको नेतालाई राजनीतिक मुद्दामा फसाएर बन्दी बनाइएको भन्दै उनले जनताको भारी मतले चुनिएका चौधरीले सदनमा जनताको आवाज व्यक्त गर्न नपाई संसद्को कार्यकाल सकिन लागेकोमा चिन्ता व्यक्त गरिन्।“थारु जातिको हकहित र अधिकारको रक्षाका लागि लडिरहेको एउटा नेतालाई जेलमा नै बन्दी बनाएर राखिएको छ।
सबैजसो पार्टीका प्रमुख नेताहरु रेशम चौधरी निर्दोष छन् भनेर बर्दिया र कैलालीतिर जाँदा सार्वजनिक रुपमा नै भन्ने गर्दछन्,” उनले भनिन्,“कानुनी राज्यको अवधारणाअनुसार दोषीलाई कारबाही हुनुपर्दछ । तर, निर्दोष व्यक्तिलाई विभिन्न षडयन्त्रबाट जेलमा नसडाइयोस् ।” उनले रेशम चौधरीको मात्र नभइ अध्यधिक मतले निर्वाचित गरेका आम जनताको मतको पनि सम्मान गर्न नसकेको उल्लेख गरिन् ।सीमित व्यक्तिको राजनीतिक फाइदाका लागि राज्यका संयन्त्रहरू प्रयोग गरेर एक नेतालाई अन्यायमा पार्नु त्यस क्षेत्रका जनतालाई नै अन्याय गरेको हुने भन्दै सांसद ढकालले चौधरीको रिहाइको माग गरिन्।