धनगढी उप महानगरपालिका वडा नम्बर ६ राधा कृष्ण भैँसी पालक समुहका महिलाहरुले पशु बिमा वाफतको रकम पाएका छन् । पशुको बिमा गराएका दुई जना किसानको गाई र भैँसी मरेपछि उनिहरुले मरेको पशु बराबरको बिमा रकम पाएका हुन् । बिश्व खाद्य कार्यक्रम र सप्रोस नेपालको संयोजन तथा नेपाल सरकारको लगानीमा गरिने पशु बिमा कार्यक्रममा आबद्ध सो समुहका दुई जना महिलाहरुले बिमा वाफतको रकम पाएका हुन् ।
राधा कृष्ण भैँसी पालक समुहमा रहेका तुलसी चन्द र हरिमाया बोगटीले बिमा वाफतको रकम पाउका हुन् । भैँसीको बिमा गरेकी तुलसी चन्दले ९० हजार र गाईको बिमा गरेकी हरिमाया बोगटीले ४५ हजारको चेक पाएकी हुन् । आज एक कार्यक्रमको आयोजना गर्दै धनगढी उप महानगरपालिका वडा नम्बर ६ का वडा सदस्य महेन्द्र थापाले सो महिलाहरुलाई चेक हस्तान्तरण गरेका हुन् ।
चेक हस्तान्तरण गर्दै सदस्य थापाले बिश्व खाद्य कार्यक्रम अन्तर्गत सप्रोस नेपालद्वारा सञ्चालित मुल्य श्रृखंलामा महिला कार्यक्रमले महिलाहरुलाई आत्मनिर्भर बनाउनमा निकै भुमिका खेलेको बताए । दिवा खाजा कार्यक्रमका लागी यस संस्थाले स्थानिय क्षेत्रमा उत्पादन भएका बस्तुको मात्रै उपयोग गर्ने निति लिएपछि चुलो चौकोमै सिमित रहने महिलाहरु आय आर्जनमा लागेको उनले बताए । साथै नेपाल सरकारसंग सहकार्य गरेर पशु बिमा कार्यक्रमलाई संयोजन गर्दै किसानका हितमा काम गरेको भन्दै संस्थालाई उनले धन्यबाद दिए । पशु बिमा गरिराखे केही कारण पशुको मृत्यु भएमा अर्को पशु खरिदका लागी बिमा बाटै रकम पाइने हुँदा सबै किसानलाई पशु बिमा कार्यक्रममा आबद्ध हुन उनले आग्रह गरे ।
गाई भैँसीको बिमा गराएका किसानले बिमा वाफतको रकम पाएपछि खुशी भएका छन् । सानो रकममा बिमा हुने तर केही कारण गाई भैँसीमा क्षती भए अर्को पशु खरिदका लागी रकम आउने यो कार्यक्रमले किसानहरुमा झन उर्जा थपेको किसान हरि माया बोगटीले बताइन् । गाइको बिमा गराएकी बोगटी बिमा वाफत ९० हजार रुपयाँको चेक बुझ्दै सबैले पशु बिमा कार्यक्रममा सहभागी बन्नुपर्नेमा जोड दिइन् ।
बिश्व खाद्य कार्यक्रमको आर्थिक सहयोगमा सञ्चालित सप्रोस नेपालले मुल्य श्रृखंलामा महिला कार्यक्रम अन्तर्गत महिला तथा बालबालिकाका क्षेत्रमा काम गरिरहेको छ । सप्रोस नेपालका मुल्य श्रृखंलामा महिला कार्यक्रम कृषी अधिकृत माधव जंग महतका अनुसार महिलालाई नेतृत्व र सशक्तीकरण गर्ने खालका बिभिन्न कायृक्रम सञ्चालित छन् ।
नेपाल सरकारको बिद्यालय दिवा खाजा कार्यक्रमलाई सहयोग पुग्नेगरी संस्थाले स्थानिय महिलाहरुलाई समुहमा आबद्ध गराइ तालिम दिएर उहाँहरुलाई उत्पादनमुखी बनाउने काम गरेको कृषी अधिकृत महतले बताए । सो महिलाहरुले स्थानिय स्तरमै उत्पादन गरेका खाद्यान्न दिवा खाजामा प्रयोग गरिरहेको उनले बताए ।
सोही कार्यक्रम अन्तर्गत बिमा सम्बन्धिको कार्यक्रम मार्फत पशु बिमा गरेका किसानहरुलाई बिमा वाफतको रकम उपलब्ध गराएको महतले जानकारी दिए । किसानको लगानी जोखिमामा नहोस भन्ने उद्देश्यले नेपाल सरकारको यस कार्यक्रमा सहजीकरण गर्ने गरेको उनले बताए । बिमाका लागी कुनै ठुलो रकम नलाग्ने बताउँदै उनले आफ्नो लगानी शुरक्षित गर्नका लागी पशु बिमा कार्यक्रममा आबद्ध हुन सबैलाई आग्रह गरे ।