काठमाडौँ। नेकपा एमालेका सांसद भीम रावलले प्रधानमन्त्री शेरबहादुर देउवालाई एसपीपी अस्वीकार गरेको पत्र अमेरिकालाई पठाउन आग्रह गरेका छन् । मन्त्रिपरिषद्ले एसपीपी अस्वीकार गर्ने भनी गरेको निर्णय छिटोभन्दा छिटो अमेरिकालाई पठाउन उनले आग्रह गरेका छन् ।तर संसदीय समितिले पटकपटक निर्देशन दिँदा पनि सरकारले अमेरिकालाई उक्त पत्र नपठाउनुले गम्भीर आशंका उब्जाएको नेता रावलको भनाइ छ।
बुधबार अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा बोल्दै सांसद रावलले यस्तो बताएका हुन् । सांसद रावलले भनेका छन्, ‘पत्र नपठाउनु गम्भीर आशंकाको विषय हो । चर्चा भए अनुसार प्रधानमन्त्री शेरबहादुर देउवा अरु कुनै नामबाट एउटा नाम आएको छ, शान्तिको लागि सहयोग । यस्तै कुनै पित्तललाई सुनको जलप लाएजस्तो कुनै जलप लगाएर केही समय अगाडि एसपीपीको सम्बन्धमा जुन १० बुँदे मस्यौदा आएको थियो त्यो मस्यौदामा उल्लेख भएका सम्पूर्ण कुराहरुलाई नेपालप्रति थोपर्न उहाँ भित्रभित्रै क्रियाशील हुनुहुन्छ भन्ने व्यापक चर्चा छ । यदी यो चर्चा असत्य हो भने म उहाँबाट यो सरकार, यसका प्रधानमन्त्रीलाई आग्रह गर्न चाहन्छु । उहाँले पत्र पठाएर यसलाई झुटो सावित गर्नुस् । जति उहाँले यसमा ढिलो गर्दै हुनुहुन्छ, त्यति यो कुरा सत्य हो भन्ने प्रमाणित हुन्छ ।’ सांसद रावलले प्रधानमन्त्री देउवा नेपाललाई शक्ति राष्ट्रहरुको द्वन्द्वमा धकेल्न सक्रिय भएको आशंका पनि व्यक्त गरेका थिए ।